नेपालले बङ्गलादेशमा जलविद्युत निर्यात गर्न भारतलाई योजनाको नाम दिनुपर्ने
काठमाडौँ : नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकले अन्तर्देशीय विद्युत् व्यापारका लागि उच्च क्षमताका प्रसारण लाइन निर्माणको काम अगाडि बढाउने निर्णय गरेको छ।
नेपालको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेश कुमार घिमिरे र भारत सरकारको विद्युत् मन्त्रालयका सचिव आलोक कुमारको सह अध्यक्षतामा भारतको राजस्थानस्थित माउन्ट आबुमा भएको बैठकले अन्तर्देशीय विद्युत् व्यापारका लागि उच्च क्षमताका प्रसारण लाइन निर्माणलाई अगाडि बढाउने निर्णय गरेको हो।
यो दसौँ बैठक हो। बैठकमा सहभागी नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेपालले भारतको प्रसारण ग्रिडको प्रयोग गरी बङ्गलादेश विद्युत् निर्यातका लागि राखेको प्रस्तावलाई भारतले सकारात्मक रूपमा लिएको दाबी गरे।
उनले भारतले निर्यात गरिने जलविद्युत आयोजनाको नाम पठाएपछि आवश्यक सहमति दिने निर्णय भएको बताएका थिए।
नेपालले भारतको विद्युत् आयात/निर्यात (क्रस बोर्डर) निर्देशिकाभित्र रहेर विद्ध्युत निर्यात गर्न सक्छ। भारतले नेपालमा चिनिया लगानीमा बनेको जलविद्युत परियोजनाको विद्ध्युत खरिद र निर्यातमा असहमती जनाउँदै आएको छ।
इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत विद्युत् बिक्री गर्न नेपालले एक वर्षको मात्र स्वीकृति पाउँदै आएको छ। बैठकमा स्वीकृतिको अवधि एक वर्षभन्दा बढाउन नेपाल पक्षले प्रस्ताव गरेको थियो। यसमा भारतीय पक्ष सकारात्मक देखिएको बैठकमा सहभागी नेपाली पक्षको दाबी छ।
बैठकले टनकपुरबाट नेपालले विद्युत् निर्यात गर्न पाउने सहमति भएको छ। यस अगाडि नेपालले सो प्रणालीबाट आयात मात्र गर्न पाउँथ्यो।
नेपाल र भारतबिच विद्युत् आयात निर्यातका लागि इनरुवा पूर्निया र नयाँ लम्की (दोदोधारा) र बरेली ४०० केभी प्रसारण लाइन सन् २०२७–२८ र २०२८–२९ सम्ममा सम्पन्न गर्ने गरी कार्यान्वयनमा लैजाने निर्णय समेत भएको छ।
नयाँ बुटवल–गोरखपुर लाइन कार्यान्वयन तथा प्रसारण सेवा सम्झौता छिट्टै सम्पन्न गर्ने, लाइन मार्च २०२५ सम्ममा निर्माण सम्पन्न गर्ने, हाल सञ्चालनमा रहेको ढल्केबर मुजफ्फरपुर ४०० केभी पहिलो अन्तर्देशीय प्रसारण लाइनबाट आयात निर्यात भइरहेको विद्युत् क्षमतालाई ६०० मेगावाटबाट बढाएर ८०० मेगावाट पुर्याउने निर्णय समेत भएको छ।
फागुन ७, २०७९ आइतबार २०:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।