गण्डकीमा एक वर्षमा ५४१ मानव अधिकार उल्लंघनका घटना
पोखरा : गण्डकी प्रदेशमा एक वर्षमा ५४१ मानव अधिकार उल्लंघनका घटना भएका छन्।
सन् २०२२ मा मानव अधिकारका विषयमा गण्डकीमा राज्य पक्षबाट ४० जना र अन्य पक्षबाट ५०१ जना पीडित भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले जनाएको छ।
आइतबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा ५४१ मानव अधिकार हननका घटनामा ४६३ महिला र ७८ जना पुरुष पीडित भएको इन्सेकका गण्डकी प्रदेश संयोजक शिव खकुरेलले जानकारी दिए।
गत वर्षको तुलनामा यस वर्ष संख्यात्मक हिसाबले राज्य पक्षबाट भएका घटनामा कमी देखिए पनि अन्य पक्षबाट भएका घटनामा भने वृद्धि भएको छ।
गण्डकीमा पछिल्लो समय बालबालिकामाथि हुने शोषणका घटनामा पनि वृद्धि भएको छ। प्रदेशमा ११७ जना बालबालिकाहरू विभिन्न घटनामा पीडित भएका छन्।
इन्सेकले सन् १९९२ देखि नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन गर्दै आइरहेको छ।
फागुन ७, २०७९ आइतबार १८:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।