जसपालाई सरकारमा सहभागी गराउन लुम्बिनीमा मन्त्रि नै हेरफेर गर्ने तयारी
बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका छन्। सरकारमा जनता समाजवादी पार्टी (जसपा)लाई सहभागी गराउने गरी मुख्यमन्त्री गिरीले मन्त्री हेरफेर गर्न लागेका हुन्।
स्रोतका अनुसार मुख्यमन्त्री गिरीले एमालेका कृषि तथा भूमि व्यवस्थामन्त्री तुलसीराम शर्मालाई मुख्यमन्त्री कार्यालयमै राखेर जसपा संसदीय दलका नेता भण्डारीलाल अहिरलाई कृषि तथा भूमि व्यवस्थामन्त्री बनाउन लागेका छन्।
सत्ता गठबन्धन दलको सहमतिअनुसार जसपालाई सरकारमा ल्याउन लागिएको सरकारका प्रवक्ता एवं मन्त्री चेतनारायण आचार्यले बताए ।
त्यस्तै, मुख्यमन्त्री गिरीले माओवादी केन्द्रबाट यसअघि मन्त्री बनेकी कृष्णा केसीले पदवहाली अस्वीकार गरेपछि उनको पदवहाली नभएसम्म वा अर्को मन्त्री व्यवस्था नभएसम्मका लागि आन्तरिक मामिला, कानुन तथा सहकारीमन्त्रीको जिम्मेवारी खानेपानी, ग्रामीण तथा सहकारीमन्त्री चेतनारायण आचार्यलाई दिएका छन्।
मुख्यमन्त्री गिरीसँगै पुस २८ मा विनाविभागीय मन्त्रीको शपथ लिएकी केसीलाई माघ २८ मा आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी तोकिएको थियो।
उनले जिम्मेवारी अस्वीकार गर्दै पदवहाली गरेकी छैनन् भने मन्त्रिपरिषद्को बैठकमा समेत सहभागि भएकी छैनन्।
फागुन ७, २०७९ आइतबार १७:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।