पोखरा बस दुर्घटना : घाइतेको संख्या ४२, विभिन्न अस्पतालमा उपचार हुँदै
पोखरा : पोखरास्थित लेखनाथ डाँडाको नाक प्रहरी चौकी अगाडि भएको बस दुर्घटनामा चालकसहित ४२ जना घाइते भएका छन्।
पोखरा विश्वविद्यालयबाट पोखरा बजार आउँदै गरेको ग १ ख ६७४७ नम्बरको लेखनाथ मिनी बस सडकदेखि करिब २० मिटर तल खोल्सोमा पल्टेको हो।
बसमा करिब ४५ जना सवार थिए भने अधिकांश सामान्य घाइते भएको बताइएको छ। साथै केहीको अवस्था गम्भिर रहेको जिल्ला ट्राफिक कार्यालय कास्कीका सूचना अधिकारी शिव प्रसाद पाठकले जानकारी दिए।
घाइतेहरुको उद्धार गरि उपचारका लागि पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, गण्डकी मेडिकल कलेज, फिष्टेल अस्पताल पठाइएको उनले बताए।
बसमा ३४ महिला १० पुरुष र १ बालक सहित ४५ जना सवार रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा परेका धेरैजसो पोखरा विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरू रहेका छन्।
दुर्घटनापछि बसका चालक विन्देस बस्यौलालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
फागुन ७, २०७९ आइतबार १६:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।