पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आईएफआर प्रणाली लागू हुने
काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा इन्स्ट्रमेन्ट फ्लाइट रुल्स (आईएफआर) प्रणाली लागू गर्ने भएको छ।
फागुन ११ गतेदेखि आईएफआर प्रणाली लागु हुने भएसँगै पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि वायुसेवा कम्पनीहरूले चासो देखाएका छन्।
क्यानका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार अन्तर्राष्ट्रिय उडानका लागि कोरियन एयर, विज एयर, हिमालय एअरलाइन्स र नेपाल वायुसेवा निगम लगायतले चासो देखाएका हुन्।
आईएफआर पूर्ण यान्त्रिक प्रणाली भएकाले भिजुअल फ्लाइट रुल्स (भीएफआर)को तुलनामा निकै सुरक्षित र सहज हुने प्राधिकरणले जनाएको छ। हिमालय एअरको न्यारोबडी विमान एयरबस ३२० ले पोखरामा परीक्षण उडान गरिसकेको छ।
उडानका लागि चासो देखाएका विमान कम्पनीका विमान, यात्रु क्षमता र उडान गर्न चाहेको गन्तव्य लगायत विषयमा छलफल हुने बाँकी रहेको पनि प्राधिकरणले जनाएको छ।
गत जनवरी–१ देखि सञ्चालनमा आएको उक्त विमानस्थलमा हाल बुद्ध, यती, श्री, सौर्य, गुणलगायत वायुसेवाले आन्तरिक उडान गरिरहेका छन्।
फागुन ७, २०७९ आइतबार १०:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।