पूर्वराजाको उद्घोष : देश निरन्तर अधोगतिमा लाग्दा मौन रहन सक्दैनौं
काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले देशको निरन्तरको अधोगतिमा मौन रहन नसक्ने उद्घोष गरेका छन्।
प्रजातन्त्र दिवसका अवसरमा सन्देश जारी गर्दै पूर्वराजाले ज्ञानेन्द्रले देश निरन्तर अधोगतिमा गइरहेको अवस्थामा मौन रहन नसक्ने उद्घोष गरेका हुन्।
सन्देशमा उनले भनेका छन्, ‘नेपालको अत्यधिक बहुसंख्यक जनताले चाहेको निर्णय स्वीकार्ने हाम्रो वंशको परम्परा र संस्कार हो । शोकाकुल अवस्थाको अत्यन्तै प्रतिकूल पलहरूमा पनि हामीले संयमता र देशभक्ति गुमाएनौँ र देश छोडेर पनि गएनौँ । तर नेपालको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौँ।’
उनले देश जोगाउन दलहरूलाई सहकार्य गर्न आह्वान गरेका छन्। जनताले चाहेको निर्णय स्वीकार गर्ने परम्परा र संस्कार आफ्नो वंशमा रहेको शाहले उल्लेख गरेका छन्।
अहिले देशको दीर्घकालीन शान्ति, स्थिरता, अन्तर्राष्ट्रिय सम्मान र सार्वभौमिकतामा चिरा पर्न थालेको भन्दै उनले चिन्ता व्यक्त गरेका छन्।
‘देश जोगाउन प्रजातन्त्रका लागि अपरिहार्य राजनीतिक दलहरू र देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यका लागि विलम्ब गर्नुहुँदैन’, पूर्वराजाको विज्ञप्तिमा भनिएको छ।
नेपाल एकीकरणको २४० वर्षपछि शासकीय सत्ता जनताको नासो जनतालाई आफूले बुझाएको उल्लेख गर्दै शाहले अहिले देश कुशासन, भ्रष्टाचार, निराशलाग्दो आर्थिक शिथिलता र सामाजिक विग्रहको चपेटामा फसेको बताएका छन्।
फागुन ६, २०७९ शनिबार २१:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।