ल्होत्से मलमा लुटपाटमा संलग्न ४० जना पक्राउ

ल्होत्से मलमा लुटपाटमा संलग्न ४० जना पक्राउ

काठमाडौं : नयाँ बसपार्कस्थित ल्होत्से मलमा तोडफोड गरी लुटपाट गर्ने तथा प्रहरीको सवारी साधन आगजानीमा संलग्न भएका ४० जनालाई प्रहरीले पक्राउ गरेको छ।

यातायात मजदुरका नाममा प्रहरीका दुई वटा भ्यानमा आगो लगाउने, लोत्से मल तोडफोड गर्ने तथा मोबाइल लुटपाटमा संलग्न भएको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।

आन्दोलनकारीले लोत्से मलमा अर्जुन चालिसेले सञ्चालन गरेको एसिडिसी मोबाइल प्रालि, डायमन्ड मोबाइल प्रालि र गजेन्द्र न्यौपानेले सञ्चालन गरेको काठमाडौं सुपर मार्केट प्रालिमा तोडफोड गरी मोबाइल, चार्जर, रिचार्ज र एयरफोन लगायतका सामग्री लुटपाट गरेका थिए।

उनीहरुले प्रहरी वृत्त बालाजुको बा २ झ १४४ नम्बरको स्कार्पियो र बा १ झ ७२२४ नम्बरको गाडी समेत जलाउनुका साथै बालाजु र माछापोखरी चोकको ट्राफिक आयल्यान्डमा क्षति पुर्याएको प्रहरीको आरोप छ।

आन्दोलनका क्रममा बालाजु चोकको अस्थायी प्रहरी पोष्टमा समेत आगो लगाइएको थियो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सीताराम रिजालले आगजानी र तोडफोडमा संलग्न भएका २९ र मोबाइल लुटपाटमा संलग्न ११ जनालाई पक्राउ गरी अनुसन्धान गर्न थालिएको जानकारी दिए।

फागुन ६, २०७९ शनिबार २०:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।