डा. हरिहरका सुख-दुःख : योग्य भएर पनि कांग्रेस नहुँदा छात्रवृत्ति पाइनँ
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. हरिहर खनाल २०१८ मा पाल्पाको खस्यौलीमा जन्मिए। स्थानीय कुसुमखोला भवानी माविबाट २०३६ मा एसएलसी उत्तीर्ण गरे। त्यो बेला विद्यालयकै पहिलो पटक प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण विद्यार्थी बने उनी।
हरिहरले यो बीचमा धेरै आरोह अवरोह पार गरे। निम्न मध्यम वर्गीय कृषक परिवारमा हुर्किएका उनको परिवारमा वर्षभरी काम गरेर छ महिना खान पनि मुस्किल हुन्थ्यो।
तर, पढाइमा रकम खर्चन भने परेन। हरिहर अध्ययनमा तीक्ष्ण भएकाले प्रायजसो छात्रवृत्ति पाउँथे उनले। विद्यालय तहमा अध्ययन गर्दा बेला–बेला पुरस्कारबाट पाउने कापी कलम उनका लागि सहज हुन्थे।
सहयोग दिनेभन्दा सल्लाह दिने धेरै
एसएलसीपछि हरिहर थप अध्ययनका लागि काठमाडौं आउनुपर्ने भयो। तर, आर्थिक अवस्था कमजोर भएकाले आँट्न सकेनन्। गाउँका हुने खानेहरूसँग सहयोग र सल्लाह दुवै माग्थे।
सहयोग नदिए पनि सल्लाह भने धेरैले दिए उनलाई र भन्थे, ‘यतै गाउँतिर जागिर गर। इन्डियामा परीक्षा मात्रै दिन जानेगरी प्राइभेट पढ्, काठमाडौंमा गएर पढ्ने तेरो औकात छैन।’
तर, परिवारले दुःखजिलो खर्चको जोहो गरेर थप अध्ययनका लागि उनलाई काठमाडौं पठायो। त्यो बेला हेल्थ असिस्टेण्ट (एचए) पढेका विद्यार्थी विशेषगरी गाउँमा डाक्टर जस्तै हुन्थे। अहिले पनि नेपालका कयौं ठाउँ एचएले धानिएका छन्।
दुई वर्षमा नै डाक्टरजस्तै हुने देखे उनले। त्यसैले हरिहर त्रिभूवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गत महाराज चिकित्सा क्याम्पसमा सामान्य चिकित्सा विषय (हेल्थ असिस्टेष्ट÷एचए) अध्ययन गर्न थाले।
उनले छात्रवृति कोटामा नै अध्ययन गरे। त्यहाँ पनि हरिहरले टप नै गरे। छात्रवृत्ति कोटामा अध्ययन गरेवापत मासिक दुई सय पाउँथे उनी। ५० रूपैयाँ घरबाट पठाइदिएपछि उनलाई खान, बस्न र पढ्न पुग्थ्यो।
हरिहरले २०४० मा एचए अध्ययन पूरा गरे। साढे दुई वर्षे कोर्स भए पनि २०३६÷०३७ को आन्दोलनका कारण कोर्स लम्बिएर ढिला भयो। परिवार, दाजु र मीनबहादुर विष्ट गुरुका कारण आफूले काठमाडौंमा पढ्ने अवसर पाएको डा. हरिहर सम्झन्छन्।
बहिनीको मृत्युले देखेको डाक्टर बन्ने सपना
त्यो बेला बेलैमा सहि उपचार नपाएका कारण नौ महिनाकी बहिनीको मृत्यु भएको घटनाका कारण पनि उनलाई डाक्टर नै पढ्ने सपना थियो। बहिनीको मृत्यु हुँदा हरिहर करिब नौ वर्षका थिए।
एक जना लामा बाजेले औषधि खुवाउनुपर्छ भनेपछि डेढ घण्टामा तानसेन पुगेर उनले औषधि ल्याए। तर, मुखमा औषधि राख्नेबित्तिकै बहिनीको प्राण त्यागिन्।
उनलाई अहिले पनि लाग्छ, ‘बेलैमा निमोनियाको उपचार भइदिएको भए बहिनी बाँच्ने रहिछ।’
‘हल्लिएर आइस् कि पढेर’ भन्दै खिसी
एचए अध्ययनपछि उनी पाल्पाको तानसेनस्थित सीएमए क्याम्पसमा अहेब पढाउन पुगे। त्यहाँ पढाउँदा–पढाउँदै उनी तत्कालीन सोभियत संघ (रसिया)मा एमबीबीएस अध्ययनका लागि छात्रवृत्ति कोटामा छनोट भए।
तर, त्यो बेला रसियामा अध्ययन गर्न जानेलाई बरालिन गएका भन्दै खिसिट्यरी हुन्थ्यो। त्यसैले हरिहर पनि रसिया जाने की नजाने भनेर दुविधामा थिए। त्यो बेला चिकित्साशास्त्र अध्ययन संस्थानका सहायक डिन थिए, नवीन प्रकाशजंग शाह। हरिहर उनका माया गर्ने विद्यार्थी थिए। त्यसैले उनै शाहसँग रसियामा पढ्न जाउँ की नजाउँ भनेर हरिहरले सोधे।
सहायक डिन शाहले निर्धक्क हुँदै हरिहरलाई भनेछन्, ‘किन नजानु, जा। जहाँ पाएको छस् गैहाल। भोलि के होला के।’
त्यसपछि खुसी हुँदै हरिहर एमबीबीएस अध्ययनका लागि प्रक्रिया मिलाएर रसिया पुगे। तत्कालीन सोभियत संघ (रसिया)को युक्रेनस्थित सन् १९८४ मा खार्कीभ मेडिकल स्टच्युड पुगे हरिहर।
सन् १९९१ मा अध्ययन पूरा गरेर उनी नेपाल फर्के। त्यो कोर्सलाई रसियामा एमडी भनिए पनि नेपालमा भने एमबीबीएस सरह हुन्छ।
त्यो बेला रसियामा पढेर आएको डाक्टर भनेपछि निक्कै खिसिट्युरी सहनुपरेको अनुभूति उनले सुनाए।
‘रसियाबाट पढेर फर्केपछि प्रयोगात्मक अभ्यास जनावरमा गरिस् कि मान्छेमा भन्थे,’ डा. हरिहरले सुनाए, ‘हल्लिएर आइस कि पढेर पनि भन्थे।’
वीरमा काम गर्दा आफ्नै ढाड खुस्किएपछि...
अध्ययन सकेर नेपाल फर्केपछि डा. हरिहरले बागलुङ जिल्ला अस्पतालमा मेडिकल अधिकृतका रूपमा काम गरे। डेढवर्षपछि लोकसेवा परीक्षा मार्फत स्थायी चिकित्सकका रूपमा जागिरे भए। त्यसपछि उनको पहिलो पोष्टिङ्ग वीर अस्पतालमा भयो।
त्यो बेला भविस्यमा सर्जरी विषय अध्ययन गर्ने रहरका कारण वीर अस्पतालको सर्जरी विभागमा नै उनले काम गर्न थाले। अस्पतालमा काम गरिरहेको बेला २०५१ मा बाढी पहिरोका कारण धेरै घाइते बिरामी अस्पताल पुगेको उनलाई सम्झना छ। कतिपयको खुट्टा नै काटेर फाल्नु परेको तथा धेरै घाइतेको उपचार गरेर ज्यान बचाएको उनी सम्झन्छन्।
त्यही बेला सर्जरी अध्ययन गर्ने तयारी गरिरहेका डा. हरिहरकै ढाड खुस्किएछ। दिनरात घण्टौंसम्म उभिएर काम गरेकाले ढाडको समस्या भएर उभिन र हिँडडुल नै गर्न नसक्ने अवस्थामा पुगे उनी। त्यसपछि त्रिवि शिक्षण अस्पतालमा ढाडको शल्यक्रिया नै गर्नुपरेको उनले सुनाए। त्यो बेला ६ महिना बेडरेस्ट गर्नुपरेको उनले सुनाए।
शल्यक्रियापछि ढाडको समस्याका कारण डा. हरिहरलाई सर्जरी विभागमा काम गर्न गाह्रो भयो। त्यसैले छाला विभागमा काम गर्न थाले। करिब ६ महिनापछि छालाको काम गर्न उनलाई मन लागेन। त्यसपछि प्याथोलोजी विभागमा ६ महिना बिताएका उनले कार्डियोलोजी मेडिसिन विभागमा केही समय काम गरे।
बंगलादेशमा पुगेर भर्ना हुन नपाएको त्यो निरासा
छनोट चरण उत्तीर्ण भएपछि डा. हरिहर मुटुरोग विषयको अध्ययनका लागि बंगलादेशमा जाने तयारी गरे। नेपालको कोटामा एमडी अध्ययनका लागि भर्ना हुन उनी बंगलादेश पुगे।
तर, वंगलादेश पुगेर कलेजमा भर्ना हुन खोज्दा त मेडिकल कलेजका एक जना पदाधिकारिले अर्को वर्ष आउन आग्रह गरे। त्यो बेला नेपालका प्रधानमन्त्रीले फोन गरेपछि राजदूत नै पुगेर अर्को विद्यार्थी भर्ना गरेछन्।
कलेजका ती पदाधिकारीले त्यो सबैकुरा सुनाएपछि डा. हरिहरलाई निक्कै खल्लो महसुस भयो। मनमा चोट पर्यो र निराश हुँदै नेपाल फर्के।
‘चिकित्सक संघले ‘पार्टीको हैनौं’ भनेर छात्रवृति दिएनन्’
तर, थप अध्ययन गर्ने डा. हरिहरको भोक भने मरेको थिएन। त्यो बेला निजी औषधि उत्पादक कम्पनीले नेपाल चिकित्सक संघ (एनएमए) मार्फत पनि चिकित्सा शास्त्र विषय अध्ययनका लागि छात्रवृत्ति दिन्थे। उनले पनि एमडी अध्ययनका लागि छात्रवृत्ति मागे।
तर, त्यो बेलाको चिकित्सक संघका पदाधिकारी डा. हरिहरलाई ‘तपार्इं हाम्रो पार्टीको होइन, छात्रवृत्ति दिन मिल्दैन’ भनेछन्।
‘चिकित्सक संघमा छात्रवृतिमा अध्ययनका लागि मागेँ’, डा. हरिहरले सुनाए, ‘तर, साथीहरूले सिधै तपाईं हाम्रो पार्टीको भए छात्रवृति दिन्थ्यौं। हाम्रो पार्टीको नभएकाले दिँदैनौं भन्नुभयो।’
त्यो बेला आफू कांग्रेसको मान्छे भए नेपाल चिकित्सक संघबाट छात्रवृति पाउन सक्ने उनले सुनाए। तर, आफू तटस्थ व्यक्ति भएकैले त्यो छात्रवृत्ति गुमेको उनले सुनाए। डाक्टरको त्यो संघ पेशागत हकहित भन्दा राजनीतिमा केन्द्रीत भएको उनको अनुभूति छ।
त्यो बेला उनले सबैतिरबाट निरासा खेप्नुपर्यो। तर, थप अध्ययन गर्नेमा भने उनी दृढ थिए। त्यसैले डा. हरिहर सन् १९९७ मा युक्रेन नै पुगेर मुटुरोग विषयमा एमडी(पोष्ट ग्राजुयशन स्पेशलाइजेशन इन कार्डियोलोज, एमडी) अध्ययन गर्न थाले। त्यहाँ उनले एमडीसँगै मुटुरोग विषयमा नै विद्यावारिधि (पीएचडी इन कार्डियोलोजी) समेत गरेर सन् २००० मा नेपाल फर्के।
डा. हरिहरले नभुल्ने त्यो गल्ती
हरिहर करिब २२ वर्षअघिको एउटा प्रसङ्ग कहिल्यै भूल्दैनन्, जतिबेला उनी युक्रनबाट मुटुरोग विषयमा एमडी र विधावारिधी गरेर नेपाल फर्किएका थिए।
त्योबेला विद्यार्थी राजनीतिको जमाना थियो। ताहाचल क्याम्पसमा पढ्ने करिब २८ वर्षका अखिल छैटौंको राजनीति गर्ने एक जना विद्यार्थी पेट दुखेर वीर अस्पताल पुगेछन्। ति विद्यार्थी दुब्ला थिए।
पेट दुखेको भनेपछि ओपिडिमा स्वास्थ्य जाँच गरेर डा. हरिहरले पनि पेट दुखेको औषधि प्रेष्क्राइप गरिदिए। ति विद्यार्थी औषधि लिएर घर फर्के।
अस्पतालबाट फर्केको सात घण्टा पछि त ति विद्यार्थी दुखाई कम नभएर पुनः वीर अस्पतालकै आकस्मिक कक्षमा पुगेछन्। आकस्मिक कक्षमा पुगेका ति विद्यार्थीको इसिजीलगायतको परीक्षण गर्दा त हृदयघात पो भएको थाहा भयो।
मुटुरोग विशेषज्ञ (आफू) ले जाँचेर ग्याष्ट्रिको औषधि दिएर पठाएको व्यक्तिको हृद्यघात चाहिँ भएको थाहा पाएपछि आफू छाँगाबाट खसेजस्तै भएको उनले सुनाए।
त्यसपछि ती विद्यार्थीको तुरुन्तै हृद्यघातको उपचार भयो। डा. हरिहर लगायतको चिकित्सकको टिमले ती विद्यार्थीको उपचार गर्यो।
बिरामीको हृदयघातको समस्या कम हुँदै गयो। करिब एक हप्तापछि ति विद्यार्थी विरामी ठिक भएर अस्पतालबाट फर्के। केही वर्षसम्म पनि विद्यार्थी फलोअपमा पुगेका थिए। त्यो नै आफूले गरको जीवनको सबैभन्दा गल्तीका रूपमा लिन्छन्, डा. हरिहर।
‘मैले हृदयघात हुनसक्छ भन्ने दिमागमा नलिएर, ग्याष्ट्रिकको उपचार गरेर पठाएँ, त्यो मेरो ठूलो गल्ती हो,’ डा. हरिहरले सुनाए।
उपचार गरिरहेको वार्डमा गएर समेत विद्यार्थीसँग माफूले माफी मागेको उनले सुनाए। त्यो प्रसंग सम्झँदा उनको मन अहिलेसम्म पनि पोल्छ।
‘उनीसँग दुईपटक वार्डमा गएर मार्फ मागेँ। अबदेखि यस्तो गल्ती कहिल्यै दोहो¥याउने छैन माफ गरिदेउ भनेँ,’ डा. हरिहरले सुनाए।
बढुवामा अंकुश
अध्ययनपछि फर्केर डा. हरिहरले वीर अस्पतालमा नै काम गर्न थाले। त्यसयता निरन्तर २०२१ सम्म उनले वीर अस्पतालमा नै काम गरे। उनले एक वर्षअघि ६० वर्षे अनिवार्य अवकास उमेर हदका कारण अवकास पाए। त्यसपछि उनी विभिन्न अस्पताल र क्लिनिकमा बिरामीको स्वास्थ्य परीक्षण तथा औषधि उपचारमा नै व्यस्त हुन्छन्।
डा. हरिहरले करिब १८ वर्ष सातौं तहमा रहेर काम गरे। त्यो बेला मुटुरोग विशेषज्ञको सिट पनि कम थिए। बढुवाका लागि हेरक पहल गर्दा समेत त्यो बेला सुनुवाइ नभएको उनले सुनाए।
त्यो बेला स्वास्थ्य मन्त्रालयको लाचारीपनका कारण नै बढुवा रोकिएर आफू दशौं तहमा अवकास हुनुपरेको उनले सुनाए। डा. हरिहरले वीर अस्पतालमा मुटुरोग विभागको प्रमुखको रूपमा केही समय समेत काम गरे। उनले दर्जनौं तालिम लिएका छन्। केही पुरस्कार पनि पाएका छन्।
आफू कुनै राजनीतिक दलको शरणमा नपरेकै कारण प्रशासनिक नेतृत्वमा नगएको र इच्छा पनि नभएको उनले सुनाए। त्यसैगरी सुटकेस बोकेर शक्तिकेन्द्र धाउने इच्छा नभएकाले पनि अस्पतालको नेतृत्वमा जान भने नसकेको उनले सुनाए।
त्यो बेला सुटकेस नबुझाई सरकारी अस्पतालको नेतृत्व लिन नै कठिन भएको अनुभूति छ।
बिरामीसँगको आत्मियता
विशेषगरी लामोसमयसम्म उपचारका लागि पुग्ने बिरामीसँग आत्मिय सम्बन्ध हुने गरेको उनले सुनाए।
कयौं बिरामी तथा बिरामीका परिवारसँग परिवारका सदस्य झैं साक्षात्कार समेत हुने गरेको उनको अनुभव छ। उनले हजारौं बिरामीको उपचार गरेका छन्।
कतिपय बिरामी तथा बिरामीका आफन्तले त उपचारमा आउँदा कोशेली समेत ल्याइदिने गरेको उनले सुनाए।
‘कांग्रेस र कम्युनिष्ट डाक्टरले सिट बाँडे’
त्यसैगरी करिब २१ वर्षअघि नेपाल मेडिकल काउन्सिलको चुनावको प्रसङ्ग सम्झँदा डा. हरिहरलाई तीतो लाग्छ। नेपालगञ्जमा काउन्सिलको सम्मेलन थियो। जहाँ काउन्सिलका केही सदस्यको चुनाव थियो। बाँकी सरकारबाट नियुक्ति।
चुनावमा डा. हरिहरलाई कांग्रेस खेमाका डाक्टरहरूले आफ्नो प्यानलबाट उठे सिट दिने नत्र नदिने बताए। उता कम्युनिष्ट खेमाकाले पनि त्यसै भने। तर, डा. हरिहरले दुवै खेमाबाट चुनावमा नउठ्ने प्रतिज्ञा गरे।
उनलाई लाग्यो, ‘म डाक्टर हो। डाक्टर नै भएर चुनाव उठ्नुपर्छ, एमाले कांग्रेस हैन।’
तर, उनको त्यो सोचले काम गरेन। दुईमध्ये कुनै एउटा प्यानलमा नअटाई चुनाव जित्ने छाँट देखिएन। त्यसपछि धिक्कार्दै डा. हरिहर चुनावी मैदानबाट नै बाहिरिए।
त्यो बेला दुवै राजनीतिक पक्षका डाक्टरले काउन्सिलको सदस्यको सिट बाँडेर लिएको उनले सुनाए।
फागुन ६, २०७९ शनिबार १८:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।