पोखरा म्याराथनको उपाधि केन्याका स्टेफनलाई, हाफ म्याराथनमा पुलिसकी पर्छाइ पहिलो
पोखरा : पोखरा म्याराथनको उपाधि केन्याका स्टेफेन कोसगेइले जितेका छन्।
शनिबार पोखरा रंगशालाबाट सुरु भएको दौडमा स्टेफेनले निर्धारित ४२.१९५ किलोमिटर दुरी २ घण्टा २० मिनेट ७ सेकेण्डमा पूरा गर्दै लगातार दोस्रोपटक उपाधि जितेका हुन्। गतवर्ष पनि उनले निर्धारित ४०.१९५ किमी दुरी २ घण्टा १९ मिनेट ४३ सेकेण्डमा पार गरेका थिए।
यस्तै स्टेफेनलाई पच्छाउँदै केन्याकै धावक जुलियस मुरौकी पोखरा म्याराथनमा दोस्रो भए। उनले निर्धारित दुरी २ घण्टा २० मिनेट ३७ सेकेण्डमा पूरा गरे। तेस्रो भएका नेपाल आर्मीका होमलाल श्रेष्ठले २ घण्टा २५ मिनेट १४ सेकेण्डमा दुरी पार गरे।
महिला तर्फको हाफ म्याराथनमा नेपाल पुलिसकी राजपुरा पर्छाइ प्रथम भइन्। २१ किलोमिटर दुरी उनले १ घण्टा २१ मिनेट ११ सेकेण्डमा पुरा गरिन्।
त्यस्तै, दोस्रो भएकी सशस्त्र प्रहरीकी बृन्दा श्रेष्ठ दोस्रो र नेपाल आर्मीकी पूर्णलक्ष्मी न्यौपाने तृतीय भइन्। श्रेष्ठले १ घण्टा २६ मिनेट २८ सेकेडमा निर्धारित २१ किलोमिटर दुरी पार गर्दा न्यौपानेले १ घण्टा ३१ मिनेट ४ सेकेण्डमा निर्धारित दुरी पार गरिन्।
म्याराथनको उपाधि विजेता केन्याका कोसगेइले ५ लाख रुपैयाँ पाउँदा दोस्रो र तेस्रो भएकाले क्रमशः ३ लाख र २ लाख नगद पाए।
हाफ म्याराथनमा विजेता पर्छाइले १ लाख ५० हजार, दोस्रो र तेस्रो हुनेको क्रमशः १ लाख र ७५ हजार रूपैयाँ नगद पाए।
खुला म्यारथनमा १६ देशका २९ विदेशीसहित १५० धावक र महिलातर्फको हाफ म्याराथनमा ३५ धावले प्रतिष्प्रर्धा गरेका थिए।
फागुन ६, २०७९ शनिबार १६:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।