संघीयता, गणतन्त्र र धर्म निरपेक्षताविरुद्ध पैरवी नगरेकोमा सेनासँग रवीन्द्र मिश्रको गुनासाे

संघीयता, गणतन्त्र र धर्म निरपेक्षताविरुद्ध पैरवी नगरेकोमा सेनासँग रवीन्द्र मिश्रको गुनासाे

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रले संघीयता, गणतन्त्र र धर्म निरपेक्षताविरुद्ध नेपाली सेनाले पैरवी नगरेको भन्दै गुनासो गरेका छन्।

सेना दिवसको अवसरमा शनिबार सामाजिक सञ्जालमार्फत मिश्रले नेपालको दूरगामी हितलाई असर गर्ने ‘संघियता, गणतन्त्र र धर्म निरपेक्षता’ को घोषणा हुँदा सेनाले पैरवी नगरकोमा गुनासो गरेका हुन्।

‘संसारमा देशको दूरगामी शान्ति, स्थिरता र सुरक्षाका बारे गहन मूल्यांकन गर्ने र सरकारलाई सोही अनुरूप सुझाव दिने एउटा प्रमुख संस्था सेना हो,’ उनले भने, ‘तर नेपालको दूरगामी हितलाई असर गर्ने ‘संघियता, गणतन्त्र र धर्म निरपेक्षता’ को घोषणा हुँदा, नेपाली सेनाले ती परिवर्तन नेपालको दिर्घकालीन हितमा छैन भनेर सरकारसँग पैरवी गरेन। गर्नै पर्थ्यो।’

राजनीतिले देशका न्यायालयदेखि विश्वविद्यालयसम्म ध्वस्त भइसकेको भन्दै उनले सेना मात्र देशमा राजनीतिक भएको एकमात्र संस्था भएको दाबी गरे।

उपाध्यक्ष मिश्रले सशस्त्र युद्धबाट माओवादीलाई मुलधारमा ल्याउन सात राजनीतिक दल नभइ सेनाले बाध्य पारेको बताए। सेनाले सीमित स्रोत, साधन र तालिमले माओवादीलाई नथकाएको भए यो देशमा आज एक दलीय मओवादी शासन हुने उनको भनाइ छ।

फागुन ६, २०७९ शनिबार १५:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।