बिहान ११ बजेसम्म साढे चार लाखले गरे पशुपतिनाथको दर्शन
काठमाडौं: महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा बिहान ११ बजेसम्म साढे चार लाख भक्तजनले दर्शन गरेका छन्।महाशिवरात्रिका अवसरमा पशुपतिनाथका चार ढोका बिहान ३ बजेदेखि नै खुला गरिएको थियो।
ढोका खोल्नुअघिदेखि नै पशुपति क्षेत्रमा भक्तजनको लाम सुरु भएको कोष संस्कृति महाशाखा प्रमुख एवं सूचना अधिकारी गौरीशङ्कर पराजुलीले बताए।
बिहान छोटो लाम भए पनि अहिले लाइन बढ्न थालेको छ। उत्तरतर्फको लाम चाबहिल चोकभन्दा माथि पुगेको छ। पश्चिमतिरको लाम गौशाला चोक, दक्षिणतिरको लाम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक र पूर्वतर्फको लाम गौरीघाटसम्म पुगेको छ। घाम लागेसँगै दर्शनार्थीको सङ्ख्या बढ्न थालेको हो।
महाशिवरात्रिकै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले बेलुकी पूजा एवं दर्शन गर्ने कार्यक्रम छ। यसैगरी नेपाली सेना दिवसको कार्यक्रममा अतिथिका रूपमा आएका भारतीय सेनाका चार पूर्वप्रधानसेनापतिले पनि आज पशुपतिनाथ मन्दिरमा दर्शन गर्ने कार्यक्रम रहेको कोषका सूचना अधिकारी पराजुलीले बताए।
महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा पाँच हजारभन्दा बढी साधुसन्त आएका छन्। नागाबाबालाई मूल मन्दिरभित्र राखिएको छ।
फागुन ६, २०७९ शनिबार १२:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।