सांसद भण्डारीको सबै स्वास्थ्य ‘पारामिटर' सामान्य

सांसद भण्डारीको सबै स्वास्थ्य ‘पारामिटर' सामान्य

काठमाडौं: ग्यास सिलिण्डर चुहिएर आगलागी हुँदा जलेर घाइते भएका नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्रकान्त भण्डारीको पछिल्लो रिपोर्टअनुसार सबै स्वास्थ्य ‘पारामिटर’ सामान्य रहेको देखिएको छ। शुक्रबार उनको पहिलो शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको थियो।

बिहीबारदेखि उनको थप उपचार भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा भइरहेको छ। उपचारमा संलग्न चिकित्सक डा. धनञ्जयका अनुसार अहिले बिहान नेता भण्डारीको सबै पारामिटर नर्मल रहेको उपचार समन्वयमा सँगै रहेका कांग्रेस नेता योगराज कँडेलले जानकारी दिए।

पहिलो शल्यक्रिया गर्दा दायाँ खुट्टामा ‘डिप इन्ज्यूरी’ रहेका कारण सोचेभन्दा धेरै समय लागेको र ‘अब्जरवेसन’ पनि कम्तीमा एक–दुई घण्टा राख्नुपर्ने नियम रहेको कारण दोस्रो सर्जरी गर्न नसकिएको जानकारी डा. मुकेशबाट प्राप्त भएको नेता कँडेलको भनाइ छ।

नेता भण्डारीको फोक्सोको तल्लो भागमा मात्र कार्बन मोनोअक्साइडको मात्रा देखिएको र चिकित्सकको भनाइअनुसार हाल तल्लो भागमा मात्र रहेकाले हृदयमा असर नपर्ने बताइएको छ।

बुधबार राति आफ्नो निवासमा ग्यास सिलिन्डर चुहिएर सांसद भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए। घटनालगत्तै दुवै जनाको कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो। आमा हरिकलाको भने उपचारका क्रममा बिहीबार बिहान निधन भएको थियो।

नेता भण्डारीलाई नेपालमा यथोचित उपचार सम्भव नभएपछि बिहीबार नै श्री एयरलाइन्सको विमानमार्फत भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा थप उपचारका लागि लगिएको थियो।

नेता भण्डारीको दुवै हात र दुवै गोडा गरी २५–३० प्रतिशत जलन भएको थियो।

फागुन ६, २०७९ शनिबार ०९:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।