आज महाशिवरात्रि, आधा घण्टामै पशुपतिनाथको दर्शन गर्न सकिने

आज महाशिवरात्रि, आधा घण्टामै पशुपतिनाथको दर्शन गर्न सकिने

काठमाडौं: आज महाशिवरात्रि पर्व परेको छ। हरेक वर्ष फागुन कृष्ण चतुर्दशीमा मनाइने महाशिवरात्रि पर्व आज देशभरका हिन्दू धर्मावलम्बीहरूले मनाउँदै छन्।

आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी शिवरात्रि मनाउने गरिन्छ। यो पर्वलाई कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा मानिने शिव पुराणलगायत ग्रन्थमा उल्लेख छ।

महाशिवरात्रिका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुलेका छन्। बिहान ३ बजेअघिदेखि नै भक्तजन पूजा-आराधना एवं दर्शनका लागि जम्मा भएको पशुपति क्षेत्र विकास कोष संस्कृति महाशाखा एवं सूचना अधिकारी गौरीशङ्कर पराजुलीले बताएका छन्।

जयबागेश्वरीबाट लाममा लागेको आधा घण्टा र तिलगङ्गा क्षेत्रबाट लाममा लागेको ४५ मिनेटदेखि एक घण्टासम्ममा दर्शन गर्न सकिने उनले जानकारी दिए।

पशुपति क्षेत्रमा बिहानदेखि हजारौँ भक्तजनको भीड देखिन्छ। दशनार्थीलाई व्यवस्थित दर्शन गराउन पाँच हजार सुरक्षाकर्मी र चार हजार स्वयंसेवक खटिएको कोषले जनाएको छ।

पशुपति क्षेत्रमा स्वास्थ्य शिविरलगायत पनि व्यवस्थापन गरिएको छ। पशुपतिनाथसँगै राजधानी एवं त्यसका अन्य शिवालयमा पनि भक्तजनको भीड लागेकोे छ।

फागुन ६, २०७९ शनिबार ०७:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।