गण्डकी प्रदेशमा ६ महिनामा मात्रै भ्रष्टाचारविरुद्ध ८५० उजुरी
पोखरा : गण्डकी प्रदेशमा भ्रष्टाचार सम्बन्धी उजुरीको संख्या बढ्न थालेको छ। प्रदेशमा चालु आर्थिक वर्षको ६ महिनामा ८५० उजुरी परेको अख्तियारको तथ्यांकमा उल्लेख छ।
त्यसमध्ये ४८३ उजुरी स्थानीय तहका र बाँकी ३६७ वटा उजुरी अन्य निकायका रहेका छन्।
गण्डकीमा विभिन्न मन्त्रालयविरुद्ध पनि भ्रष्टाचार सम्बन्धी उजुरी परेका छन्। प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा सबैभन्दा बढी ४० उजुरी परेका छन्।
प्रदेशमा पछिल्लो समय सबैभन्दा बढी भ्रष्टाचारका उजुरी भने स्थानीय तहका छन्। चालु आर्थिक वर्षको ६ महिनामा स्थानीय तहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरामा ४८३ उजुरी परेका छन्।
प्रदेशमा गत आर्थिक वर्ष (२०७८/०७९) मा १ हजार ११८ वटा आर्थिक अनियमितताका उजुरी परेका थिए। प्रदेशका ११ वटा जिल्लामध्ये कास्कीमा सबैभन्दा बढी ४५७ भ्रष्टाचारका उजुरी परेको थियो।
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कास्कीबाट ३०७ उजुरी परेका छन्।
प्रदेशका विभिन्न तहमा परेका उजुरीमध्ये १५६ उजुरी फर्छ्यौट भइसकेका छन्। ६९४ उजुरी अझै फर्छ्यौट हुन बाँकी रहेका छन्।
गण्डकी प्रदेशको मुस्ताङबाट सबैभन्दा कम ९ वटा उजुरी परेका छन्।
संघीय सरकारले स्थानीय निकायलाई विशेष योजनाका लागि ठूलो रकम बजेट विनियोजन गर्न थालेसँगै स्थानीय तहहरुमा समेत उजुरीको संख्या बढेको हो।
फागुन ५, २०७९ शुक्रबार १७:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।