महाशिवरात्रि : गौशालामा शुक्रबार रातिदेखि नै सवारी डाइभर्सन, कुन सवारी कहाँसम्म चलाउन पाइने?

महाशिवरात्रि : गौशालामा शुक्रबार रातिदेखि नै सवारी डाइभर्सन, कुन सवारी कहाँसम्म चलाउन पाइने?

काठमाडौं : काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गौशालास्थित पाशुपत क्षेत्रमा शुक्रबार रातिदेखिनै सवारी साधनलाई डाईभर्सन गर्ने भएको छ।

शनिबारको महाशिवरात्रिको अवसरमा दर्शनार्थीको भीडभाड बढ्ने भएकाले प्रहरीले गौशाला क्षेत्रतर्फ जाने सवारी साधनलाई चावहिल, पुरानोबानेश्वर, ज्ञानेश्वर, मैतीदेवीमोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगंगाबाटै डाईभर्सन गरिने भएको हो।

त्यसैगरी मालवाहक सवारी साधनहरूलाई भने तीनकुने, जोरपाटी, चुच्चेपाटी, सिनामंगलपुल र बसुन्धाराबाटै डाइभर्सन गरिने भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए।

उनले गौशाला क्षेत्रमा शनिबार गरिने सवारी व्यवस्थापनमा थप सहयोगी भूमिका निर्वाह गर्न चालकलाई आग्रहसमेत गरेका छन्। ट्राफिक प्रहरीले सवारीमार्गको निर्धारणसमेत गरेको छ।

सवारीमार्ग निर्धारण
बस तथा माइक्रोबसहरू:– 
- रत्नपार्क, भद्रकाली, सिंहदरबार, माईतीघर, नयाँबानेश्वर, तिनकुने, सिनामंगल हुँदै तिलगंगासम्म पुग्ने र सोहीमार्ग हुँदै रत्नपार्क फिर्ता हुने।
- रत्नपार्क, भद्रकाली, नागस्थान, भोटाहिटी, जमल, केशरमहल, खानीविभाग, लाजिम्पाट, नारायणगोपाल चोक, चावहिल, बौद्ध, जोरपाटी, साँखुसम्म पुग्ने र सोहीमार्ग हुँदै जमलसम्म तत्पश्चात महेन्द्रशालिक तीनधारा पाठशाला हुँदै रत्नपार्क फिर्ता हुने।
- कालोपुल हुँदै कपन चल्ने सवारी साधनहरू खानीविभाग, लाजिम्पाट हुँदै महाराजगंजको बाटो चलाउने।

माइक्रोबस तथा टेम्पोहरू:–
- सुन्धाराबाट मैतीदेवी, पुरानोबानेश्वर, चावहिल हुँदै बौद्ध तर्फचल्ने माइक्रोबस तथा टेम्पोहरू महेन्द्रशालिक, कृष्णपाउरोटी, जयनेपाल, सिंहदोबाटो, नक्साल, भगवतीबहाल, सानोगौचरण, सिफल उकालो, चावहिल गणेशस्थान, चावहिल हुँदै जोरपाटी मार्ग हुँदै चलाउने।
- जोरपाटी बौद्धबाट सुन्धारा आउने माइक्रोबस तथा टेम्पोहरू चावहिल, नारायणगोपाल चोक, लाजिम्पाट, केशरमहल, जमल, घण्टाघर हुँदै सुन्धारा चलाउने।

मालवाहक सवारी साधनहरू:–
- जोरपाटी, बौद्ध, चावहिल हुदैं महाराजगञ्ज तर्फ जाने मालवाहक सवारी साधनहरू चुच्चेपाटी, भृकुटीचोक, गोपीकृष्णहल हुँदै सुकेधारा, महाराजगञ्ज तर्फ जानुपर्ने।
- कोटेश्वर, तिनकुने, गौशाला हुँदै बौद्ध वा सुकेधारातर्फ जाने मालवाहक सवारी साधनहरू कोटेश्वर, सातदोबाटो, कलंकी, महाराजगञ्ज र बौद्ध जाने मालवाहक सवारी साधनहरू गोपीकृष्णहल, कपन, महाँकाल, चुच्चेपाटी हुँदै बौद्ध तर्फ जाने।
- कोटेश्वर तिनकुने हुँदै पशुपती वरपर पुग्नु पर्ने मालवाहक सवारी साधनहरू तीनकुनेसम्म जान सक्नेछन्।
- महाराजगञ्ज, चावहिल हुँदै पशुपती वरपर पुग्नु पर्ने मालवाहक सवारी साधनहरू बसुन्धारासम्म पुग्न सक्ने।
- कोटेश्वर वा गठ्ठाघरबाट बौद्ध जोरपाटी जाने मालवाहक सवारी साधनहरू जडिबुटी, पेप्सीकोला, गोठाटार पुल  हुँदै बौद्ध जोरपाटीसम्म पुग्न सक्ने।

पार्किङ व्यवस्थापन :-
१. तीलगंगा आँखा अस्पताल अगाडि:- तीर्थयात्री, दर्शनार्थी र पर्यटक (विदेशी) हरूका सवारीसाधनहरू।
२. देवउद्यानस्थित कोषको कार्यालय र भण्डारखाल:- पासवाहक सरकारी र प्रहरीका सवारीका साधनहरू मात्र।
३. सिफल चौर:- पासवाला सवारी साधन र स्थानीय दर्शनार्थीका सवारीसाधनहरू।
४. गुह्येश्वरी पारी :- गोठाटार, जोरपाटी, मूलपानी, गोकर्ण बौद्धतर्फबाट आउने तीर्थंयात्रीहरूका सवारी साधनहरू।
५. वनकाली क्षेत्र  :-महाशिवरात्रिको अवसरमा शिविर सञ्चालन गर्ने संघ संस्थाहरूको सवारी साधन, दमकल, एम्बुलेन्स रखानेपानीका ट्याङ्करहरू।

फागुन ५, २०७९ शुक्रबार १७:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।