घरेलु सिरिजमा नेपालको लगातार दोस्रो जित, लिग-२ च्याम्पियन स्कटल्याण्ड तीन विकेटले पराजित

घरेलु सिरिजमा नेपालको लगातार दोस्रो जित, लिग-२ च्याम्पियन स्कटल्याण्ड तीन विकेटले पराजित

काठमाडौं : नेपालले त्रिकोणात्मक ओडीआई सिरिज अन्तर्गतको खेलमा लिग-२ च्याम्पियन स्कटल्याण्डविरुद्ध ३ विकेटको सानदार जित निकालेको छ।

नेपालको जितमा दीपेन्द्रसिंह ऐरी र कुशल मल्ल दुवैले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक बनाए। नेपालले आईसीसी विश्वकप लिग-२ अन्तर्गतको घरेलु सिरिजमा लगातार दोस्रो हात पारेको हो।

मंगलबारको पहिलो खेलमा नेपालले नामिबियालाई पनि २ विकेटले हराएको थियो।

टीयू खेल मैदान कीर्तिपुरमा आज जितका लागि स्कटल्याण्डले दिएको २७५ रनको विशाल लक्ष्य नेपालले ४७ ओभरमा ७ विकेटको नोक्सानीमा पूरा गर्यो। स्कटल्याण्डविरुद्ध नेपालको यो हालसम्म कै दोस्रो जित हो।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ११६ बलमा ८ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ८५ रनको योगदान दिए।त्यसैगरी, कुशल मल्लले मात्र ६७ बलमा ९ चौका र ४ छक्कासहित ८१ रन जोडेका थिए।

कुनैबेला मात्र ७७ रनमा ५ विकेट गुमाएको नेपालको लागि यी दुईले छैटौं विकेटका रुपमा १०० रनको शतकिय साझेदारी गरेका थिए।

यसअघि खेलमा टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्याण्डले ५० ओभरमा ९ विकेट गुमाउँदै २७४ रन बनाएको थियो।

स्कटल्याण्डका लागि माइकल लिस्कले शतक हानेका थिए। लिस्कले ८५ बलमा ३ चौका र ९ छक्कासहित अविजित १०७ रनको योगदान दिएका हुन्।

उनी बाहेक अन्य ब्याटरले गतिलो रन जोड्न सकेका थिएनन्। बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा २७ रन खर्चेर ३ विकेट लिएका थिए।

यो जितपछि नेपाल २६ खेलमा २२ अंकसहित आईसीसी विश्वकप लिग-२ अंकतालिकाको छैटौं स्थानमा कायमै छ।

फागुन ५, २०७९ शुक्रबार १६:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।