साझा यातायातको प्रष्टीकरण : यी व्यक्ति हाम्रो बसको परिचालक होइनन्

साझा यातायातको प्रष्टीकरण : यी व्यक्ति हाम्रो बसको परिचालक होइनन्

काठमाडौं : साझा यातायातले सोमबार गोंगबुमा भएको लुटपाटमा संलग्न व्यक्ति आफ्नो गाडीको परिचालक भएको स्पष्ट पारेको छ।

ट्वीटरमा एक प्रयोगकर्ताले मोबाइल लुटिरहेको तस्बिर राखेर नयाँ बसपार्कदेखि लगनखेल रुटमा चल्ने साझा बसको कन्डक्टर भएको दाबी गरेपछि यातायातले यस्तो प्रष्टीकरण दिएको हो।

ट्वीटकाे रिप्लाई दिँदै साझा यातायातको ट्वीटर ह्यान्डलले भनेको छ- 'उक्त व्यक्ति साझा यातायातको परिचालक नभएको र साझा यातायातसंग कुनै सम्बन्ध नरहेको जानकारी गराउँदछौँ। धन्यवाद।'

गत सोमबार नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघको संयुक्त आन्दोलनपछि ल्होत्से मलमा भएको लुटपाट भएको थियो।

लुटपाटको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रयोगकर्ताले चोरीमा संलग्न भएको एक व्यक्तिको तस्बिर राखेर उनलाई साझा यातायातको परिचालक भएको दाबी गरेका थिए।

बिहीबारसम्म काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रहरी भ्यान, प्रहरी विट, ट्राफिक आइल्याण्ड तोडफोड तथा आगजनी र ल्होत्से मलमा तोडफोड गरी मोबाइल पसलमा लुटपाटमा संलग्न १५ जनालाई पक्राउ गरिसकेको जनाएको छ।

फागुन ४, २०७९ बिहीबार १८:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।