सांसद भण्डारीलाई चार्टड एयरमार्फत मुम्बई लगियाे

सांसद भण्डारीलाई चार्टड एयरमार्फत मुम्बई लगियाे

काठमाडौं : ग्यास लिकपछि आगलागीबाट घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लगिएको छ।

बिहीबार दिउँसो सांसद भण्डारीलाई श्री एयरलाइन्सको चार्टर्ड विमानमार्फत मुम्बई लगिएको हो। मुम्बईस्थित नेसनल बर्न्स सेन्टरमा उनको उपचार हुने भण्डारीका स्वकीय सचिव भुवन भुसालले जानकारी दिए।

भण्डारीलाई मुम्बई पुर्याउनका लागि नर्भिक अन्तर्राष्ट्रिय अस्पतालको 'मेडिकल एयर इभ्याक्युएसन' टोली संलग्न छ। सघन उपचार विशेषज्ञ डा. प्रदीप तिवारीको नेतृत्वको मेडिकल टिमले यात्राभर भण्डारीको निगरानी राख्नेछ।

भण्डारीको स्वास्थ्य अवस्था जटिल भएकाले थप उपचारका लागि नेपाल बाहिरको सुविधासम्पन अस्पतालमा लैजान कीर्तिपुर अस्पतालका चिकित्सकहरूले सिफारिस गरेका थिए।

‘माननीयज्यूको अनुहार, दुवै हात र दुवै गोडाहरूमा गरी २५–३० प्रतिशत जलन भएको छ। श्वासनलीमा तातोहावा र धुवाँको कारणले जलन भएको हुनसक्ने अत्यधिक सम्भावना देखिन्छ,’ अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

सांसद भण्डारीकी ८६ वर्षीया आमा हरिकला भण्डारीको भने बिहीबार बिहान उपचारका क्रममा कीर्तिपुर अस्पतालमा निधन भएको छ।

काठमाडौंको बुद्धनगरस्थित घरमा बुधबार राति साढे १० बजे ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा जलेर घाइते भएका थिए। उनीहरूलाई बुधबार राति नै कीर्तिपुर अस्पताल लगिएको थियो।

फागुन ४, २०७९ बिहीबार १६:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।