पोखराबाट तत्काल अन्तर्राष्ट्रिय उडानको सम्भावना छैन : पर्यटनमन्त्री किराँती 

पोखराबाट तत्काल अन्तर्राष्ट्रिय उडानको सम्भावना छैन : पर्यटनमन्त्री किराँती 

पोखरा : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले पोखराबाट तत्काल अन्तर्राष्ट्रिय उडानको सम्भावना नरहेको बताएका छन्।

बिहीबार पोखरामा प्रेस सेन्टर गण्डकीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले तत्कालका लागि पोखराबाट अन्तर्राष्ट्रिय उडान हुने सम्भावना नरहेको बताएका हुन्। यद्यपि सरकार प्रयासरत रहेको उनले बताए।

‘पोखराबाट अन्तर्राष्ट्रिय उडान थाल्नका लागि विभिन्न देशहरूसँग कुरा भइरहेको छ,’ उनले भने, ‘तर ठ्याक्कै यही मितिबाट अन्तर्राष्ट्रिय उडान हुन्छ भन्न सक्ने अवस्था छैन।’

मन्त्री किराँतीले चीन र भारतका विभिन्न शहरसँग हवाई सम्बन्ध जोड्न कुटनीतिक पहल भइरहेको भन्दै सार्थक परिणाम आउन समय लाग्ने बताए।

पोखरा विमानस्थलमा आउ–जाउका लागि पर्यटकलाई अप्ठेरो परेको गुनासो आएको बताउँदै उनले यात्रुको सहजताका लागि अन्तर्राष्ट्रिय विमानस्थलबाट पृथ्वीचोकसम्म विमानस्थलले नै सवारी साधन सञ्चालन गर्नेबारे छलफल भइरहेको जानकारी दिए।

माघ १ गते भएको यती एयरलाइन्सको जहाज दुर्घटनापछि सर्वसाधारण जहाज चढ्न डराइरहेको भन्दै उनले त्यस्तो मनोविज्ञान तोड्न आफू पोखरा आएको बताए।

फागुन ४, २०७९ बिहीबार १५:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।