निफको निर्णायक समितिले पायो पूर्णता

निफको निर्णायक समितिले पायो पूर्णता

काठमाडौं: आगामी चैत २ देखि ६ गतेसम्म काठमाडौंमा आयोजना हुने छैटौँ ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को निर्णायक समितिले पूर्णता पाएको छ। फिचर चलचित्रतर्फको निर्णायकमा अमेरिकी अभिनेता जेफ मोनाहान मनोनीत भएसँगै समितिले पूर्णता पाएको हो।

अभिनेता, लेखक र निर्माताको रूपमा सक्रिय मोनाहानसँगै उक्त विधाको प्रमुखमा भारतीय समीक्षक प्रेमेन्द्र मजुमदार र सदस्यमा अभिनेत्री प्रियङ्का कार्की यसअघि नै मनोनीत भएका थिए।

यस्तै, छोटो तथा वृत्तचित्रतर्फको निर्णायकमा प्रा डा इतामी बोर्जन मनोनीत भएका छन्। चलचित्र विशेषज्ञसँगै शिक्षाविद् बोर्जनले क्रोएसियाको जाग्रेब विश्वविद्यालयमा एथनोग्राफिक, वृत्तचित्र, विश्व चलचित्रको इतिहास र सिद्धान्त पढाउँछिन्। उनीअघि उक्त विधातर्फ प्रमुखमा ‘बेइजिङ फिल्म एकेडेमी’ की डिन प्रालि रान र सदस्यमा माया एकेडेमीका इन्द्रलाल बलामी मनोनीत भएका थिए।

“विश्व चलचित्रसँग समेत जोडिनुभएका व्यक्तिलाई निर्णायकमा राख्न पाउँदा उत्साहित छौँ। यसले नेपालमा रहेका निर्माता तथा निर्देशकलाई पनि साक्षात्कार गर्ने र विश्वमा बनिरहेका चलचित्रसँगै वृत्तचित्र बुझ्ने अवसर मिल्नेमा विश्वस्त छु”, निफका अध्यक्ष केपी पाठकले भने।

यस वर्ष ‘निफ’ मा छनोट भएर दोस्रो चरणमा आइपुगेका ३५ देशका ९५ लामा, छोटा तथा एनिमेटेड चलचित्र प्रदर्शन गरिनेछन्। सात विधामा १४ पुरस्कार वितरण गरिने उक्त महोत्सवमा रचनात्मक कार्यक्रम (गोष्ठी, अन्तरक्रिया)समेत आयोजना गरिने अध्यक्ष पाठकले जानकारी दिए।

फागुन ४, २०७९ बिहीबार ०९:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।