सांसद भण्डारीको उपचार नेपालमा सहज नहुने भएकाले देशबाहिर लैजान सिफारिस
काठमाडौं: खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा घाइते भएका प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीको शरीरको २५ देखि ३० प्रतिशत भाग जलेको कीर्तिपुर अस्पतालले जनाएको छ। बुद्धनगरस्थित घरमा बुधबार राति सिलिण्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए।
'...गम्भीर जलन भई कीर्तिपुर अस्पतालको आकस्मिक विभागमा सांसदज्यू हिजो राति १०:३० बजे आइपुग्नु भएको तथा आमालाई सिभिल अस्पताल हुँदै करिब एक घण्टापछि यस अस्पताल ल्याई पुर्याई प्राथमिक तथा प्रारम्भिक उपचारपश्चात् जलन सघन उपचार कक्षमा उपचार हुँदैछ', अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
अस्पतालका अनुसार सांसद भण्डारीकी आमाको जिउको अधिकांश भागमा गरी ७०% जलन भएको छ। साथै दुवै जनाको श्वासनलीमा तातो हावा र धुवाँको कारणले जलन भएको हुनसक्ने अत्यधिक सम्भावना देखिएको पनि बताइएको छ।
यस्तै हालको श्रोत र साधनको अवस्थामा नेपालमा उपचार सहज नहुने देखिएकोले देशबाहिर सुविधासम्पन्न स्वास्थ्य संस्थामा यथाशीघ्र स्थानान्तरण गर्न पनि अस्पतालले सिफारिस गरेको छ।
फागुन ४, २०७९ बिहीबार ०९:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।