नवौँ राष्ट्रिय खेलकुदका विजेता खेलाडीहरूलाई सशस्त्र प्रहरी महानिरीक्षकद्वारा सम्मानपत्र प्रदान

नवौँ राष्ट्रिय खेलकुदका विजेता खेलाडीहरूलाई सशस्त्र प्रहरी महानिरीक्षकद्वारा सम्मानपत्र प्रदान

काठमाडौं: सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले ‘नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७९’मा सहभागी भई विभिन्न विधामा स्वर्ण पदक जित्न सफल नेपाल एपीएफ क्लबका खेलाडीहरूलाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरेका छन्।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा फागुन ३ गते आयोजित समारोहमा सो प्रतियोगितामा स्वर्ण पदक, रजत तथा कास्य पदक विजेता नेपाल एपीएफ क्लबका खेलाडीहरूलाई नगदसहित सम्मानपत्र प्रदान गरिएको हो।

महानिरीक्षक अर्यालले प्रशिक्षक, व्यवस्थापक तथा नेपाल एपीएफ क्लबलाई सहयोग पुर्याउनेहरूलाई समेत सम्मान
गरेका थिए। कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नारायणदत्त पौडेल र वंशीराज दाहालले रजत तथा कास्य पदक विजेता खेलाडीहरूलाई नगद पुरस्कारसहित सम्मान गरे।

गत असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको विभिन्न स्थानहरूमा सञ्चालन भएको उक्त राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल एपीएफ क्लबले सामूहिक तथा व्यक्तिगत विधामा ६५ स्वर्ण, ७२ रजत र ८२ कास्य गरी कुल २१९ पदकसहित दोश्रो स्थान हासिल गरेको थियो।

कुल ३६ खेल विधा समावेश गरिएको उक्त प्रतियोगितामा सशस्त्र प्रहरी बल, नेपालको नेपाल एपीएफ क्लबबाट ३१ खेल विधामा ५४९ जना खेलाडीहरूको सहभागिता थियो। उक्त समारोहमा सो प्रतियोगितामा व्यक्तिगत खेलतर्फ पदक विजेता खेलाडीलाई
जनही तथा सामूहिक खेलतर्फ दुई वा दुईभन्दा बढी विधातर्फ सहभागी भई पदक विजेता टिमका टिम क्याप्टेनलाई नगद पुरस्कारसहित सम्मानपत्र समेत प्रदान गरिएको छ।

नेपाल एपीएफ क्लबबाट सहभागी भई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा उत्कृष्ट खेल प्रदर्शन गरेबापत सशस्त्र प्रहरी बल नेपालले गत माघ ९ गते सशस्त्र प्रहरी दिवसको अवसर पारेर पहिलो पटक १६ जना खेलाडीहरूलाई एक तह बढुवा गर्दै दर्ज्यानी चिह्न प्रदान गरेको थियो।

अर्यालले खेलाडीहरूले प्राप्त गरेको सफलतालाई कायम राख्दै अझै राम्रो र उत्कृष्ट खेल प्रदर्शन गर्न शुभकामना दिँदै आगामी दिनमा नेपाल एपीएफ क्लबलाई थप विकास गर्दै लैजाने उल्लेख गरे।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नारायणदत्त पौडेल र वंशीराज दाहाल लगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृत, सिनियर अधिकृत, जुनियर अधिकृत तथा बिल्लादार जवानहरूको समेत उपस्थिति थियो।

फागुन ४, २०७९ बिहीबार ०७:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।