लुम्बिनी प्रदेश सरकार स्थापना दिवस : प्रदेश पदकबाट ६१ जना विभूषित

लुम्बिनी प्रदेश सरकार स्थापना दिवस : प्रदेश पदकबाट ६१ जना विभूषित

दाङ : लुम्बिनी प्रदेश सरकारले आफ्नो स्थापना दिवस मनाएको छ। राप्ती गाउँपालिका वडा नं. ३ सिरिचौरमा औपचारिक समारोहको आयोजना गरेर सरकारले बुधबार स्थापना दिवस मनाएको हो।

प्रदेश सरकार स्थापना भएको दिनलाई सरकारले स्थापना दिवसको रुपमा मनाउँदै आएको छ। २०७४ साल फागुन ३ गते पहिलो पटक प्रदेशमा सरकार गठन भएको थियो।

प्रदेश सरकार स्थापना दिवसको अवसरमा विभिन्न ६१ जनालाई प्रदेश पदकबाट विभूषित पनि गरिएको छ। प्रदेश प्रमुख जनसेवा पदकबाट मरणोपरान्त जनार्दन यादव र जीतबहादुर थापालाई विभूषित गरिएको छ।

यादवले संघीयता र गणतन्त्रको स्थापनामा सहयोग गरेका थिए भने थापाले जनयुद्धमार्फत लोकतान्त्रिक गणतन्त्र स्थापनामा विशेष योगदान दिएका थिए।

मुख्यमन्त्री प्रज्ज्वलदीप पदक भने डाक्टर मोहिउद्दिन किदवाई र डाक्टर राजन पाण्डेलाई प्रदान गरिएको छ। डाक्टर किदवाईले नेपालमै अधिक जनताको शल्यक्रिया गरी जनस्वास्थ्यमा उल्लेख्य योगदान दिएका छन्।

पाण्डेले भने तराइका थारु समुदायमा समस्याको रुपमा रहेको सिकलसेल एनेमिया र थालेसिमिया सम्वन्धि स्वास्थ्य समस्या पत्ता लगाई उक्त रोगको उपचारलाई प्रभावकारी बनाउने सम्बन्धमा अध्ययन अनुसन्धानमा सहयोग गरेका थिए।

फागुन ३, २०७९ बुधबार १९:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।