दिलीपको हत्यामा बालुवा प्रशोधनका सञ्चालकसहित तीन जना दोषी ठहर

दिलीपको हत्यामा बालुवा प्रशोधनका सञ्चालकसहित तीन जना दोषी ठहर

काठमाडौँ : अवैध बालुवा उत्खननको विरोध गर्दा मारिएका धनुषाका दिलीप महतोको हत्यामा बालुवा प्रशोधन उद्योग सञ्चालकसहित तीन जना दोषी ठहर भएका छन्। जिल्ला अदालत धनुषाले विपिन महतो, जितेन्द्र महतो र मुनीन्द्र महतोलाई दोषी ठहर गर्दै २ जनालाई २५ वर्ष वा आजन्म कैद र एक जनालाई मतियारको रूपमा आधा सजायको फैसला भएको हो।

विपिन चुरियामाई बालुवा प्रशोधन उद्योगका सञ्चालक हुन् भने जितेन्द्र र मुनीन्द्र उद्योगका कामदार। जिल्ला न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले विपिन र मुनीन्द्रले दिलीपको मनसायपूर्वक हत्या गरेको अनि जितेन्द्रले मतियारको काम गरेको ठहर गरेको हो।

फागुन १२ गते न्यायाधीश गुरुङले नै उनीहरूलाई हुने सजाय निर्धारण गर्नेछन्। बुधवार तीन जनालाई दोषी ठहर मात्र गरेको हो। उद्योग सञ्चालक विनोद महतोसँगै कामदार सत्यनारायण महतो, शत्रुधन महतो र रोशनकुमार महतोले भने अभियोगबाट सफाइ पाएका छन्।

दिलीपले आफ्नो घर अगाडिको औरही खोलामा अवैध रूपमा ढुङ्गा, गिट्टी र बालुवा निकाल्ने कामको विरोध गरेका थिए। २०७६ पुस २५ मा उनको शव फेला परेको थियो। उद्योग सञ्चालक विपिन तथा उनका कामदारहरू मुनीन्द्र र जितेन्द्रसहितका सात जनाले दिलीपलाई फलामको लिभर र पेचकसले शरीरका विभिन्न भागमा क्रूरतापूर्वक प्रहार गरेर हत्या गरेको दाबी गरिएको थियो।

 

अभियोग पत्रमा आक्रमणमा परेर बेहोसका दिलीपलाई ना ७ ख ६४१३ नं. टिपरको पछाडि चक्काले टाउकोमा हानेर मारेर सडक दुर्घटना बनाउन खोजेको उल्लेख थियो।

फागुन ३, २०७९ बुधबार १९:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।