गोंगबु घटनाबारे बोले प्रधानमन्त्री- ‘राजधानीमा नै यस प्रकृतिका घटना हुनु गम्भीर कुरा हो’
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोंगबु घटनाको छानबिन र लुटपाटमा संलग्नलाई कारबाही गर्न निर्देशन दिएका छन्।
बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा प्रधानमन्त्रीले सोमबार गोंगबुमा भएको घटनाको गम्भीर रूपमा छानबिन गर्न सुरक्षा अंगका प्रमुखहरूलाई निर्देशन दिएका हुन्।
‘गोंगबुमा सोमबार भएको घटनालाई मैले गम्भीर रूपमा लिएको छु। राजधानीमा नै यस प्रकृतिका घटना हुँदा घटनालाई राज्यले गम्भीर रूपमा लिनुपर्छ,’ उनले भने, ‘घटनाको पृष्ठभूमि के छ, के कारणले त्यस्तो अप्रिय घटना घट्न पुग्यो, त्यसमा दोषी कोको छन्, त्यो सबै कुराको गहिरो अनुसन्धान गर्नुस्।’
छलफलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धानका प्रमुखहरू उपस्थित रहेका थिए।
सुरक्षा प्रमुखहरूले बसपार्क क्षेत्रमा केही विवाद भए पनि यति अप्रिय घटना होला भनेर आफूहरूले पूर्वअनुमान नगरेको बताएका थिए।
घटनामा परी ३३ जना प्रहरी घाइते भएको, प्रहरीको सावधानीका कारण मानवीय क्षति नभएको र विवादकैबीच लुटेरा समूहले फाइदा उठाएको प्रारम्भिक अनुसन्धानले देखाएको बताइएको छ।
फागुन ३, २०७९ बुधबार १६:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।