‘नेपालका प्रमुख जाँदा भारतीय शासकले भेट्नै मान्दैन्न, भारतको कर्मचारी आउँदा यहाँ सरकार प्रमुख नै किन लम्पसार परेको?’
काठमाडौं : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतबाट सामान्य कर्मचारी नेपाल आउँदा पनि नेपाल सरकारले देखाउने लम्पसारवादको व्यवहार प्रति प्रश्न उठाएका छन्।
प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले नेपालका सरकार प्रमुख नै भारतमा जाँदा पनि भारतीय शासकले भेट्न नमान्ने तर भारतको एउटा कर्मचारी आउँदा यहाँ सरकार प्रमुख नै लम्पसार पर्ने गरेको बताए।
‘नेपालबाट पूर्वप्रधानमन्त्रीहरु अथवा जिम्मेवार मन्त्रीहरु भारत जाँदा भारतीय उपल्लाे तहका शासकहरुलाई भेट्नै सक्दैनन् र उहाँहरु निराश भएर फकिर्नुपर्छ,’ उनले भने, ‘तर छिमेकका कर्मचारी आउँदा नेपालका राष्ट्रप्रमुख, सरकार प्रमुख, विभिन्न तहका मानिसहरु, देशका स्वाभिमानको पक्षमा मुन्टो हल्लाउँदै हिँड्नेहरु किन यसरी विदेशीहरुका अगाडि लम्पसार परिरहेका छन्?’
‘यो राष्ट्रिय स्वाभिमानका विषयमा उहाँहरुलाई लाज लाग्दैन?’ उनले प्रश्न गरे।
हालसालै आएका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले नेपालका उच्च राजनीतिक व्यक्तिहरूसँग गरेको भेटघाटको विषयमा उनले यो आलोचना गरेका हुन्।
उनले भने, ‘राष्ट्र सानो ठूलो हुनसक्छ। भूगोलको हिसाबले भारत नेपालभन्दा ठूलो होला। तर सार्वभौमसत्ताको हिसाबमा हरेक देश बराबर हुन्छ।’
फागुन ३, २०७९ बुधबार १४:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।