त्रिवि मैदानमा मुन्सीको ‘मेडन सेन्चुरी’, स्कटल्याण्डसँग नामिबिया १० विकेटले पराजित
काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तरगत नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित त्रिदेशीय सिरिजको दोस्रो खेलमा स्कटल्याण्डले नामिबियालाई १० विकेटले पराजित गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाले दिएको १५४ रनको लक्ष्य स्कटल्याण्डले २२.१ ओभरमा पूरा गरेको हो। उसले कुनै पनि विकेट गुमाएन।
स्कटल्याण्डका जर्ज मुन्सीले पहिलो ओडिआई शतक बनाए। ६१ बल खेलेका उनले १२ चौका र ७ छक्काको मद्दतले १०३ रन बनाएर नटआउट रहे। अर्का खेलाडी केल क्वेटजरले पनि नटआउट ४६ रन बनाए।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नाबिबियाले ३९.२ ओभरमा सबै विकेट गुमाएर १५३ रन बनायो।
उसका लागि लोहान्द्रे लोरेन्सले ५४, बर्नड स्कोल्ट्जले ३० र जेन ग्रीनले २५ रन बनाउबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्।
स्कटल्याण्डका माइकल लिस्कले ४ तथा मार्क वाट र साफ्यान शरीफले समान तीन–तीन विकेट लिए।
जितसँगै स्कटल्याण्ड ३३ खेलमा ४८ अंकसहित अंकतालिकाको पहिलो स्थानमा कायमै छ भने नामिबिया पनि ३२ खेलमा ३५ अंकसहित तेस्रो स्थानमै कायम छ।
यसअघि नामिबिया सोमबार नेपालसँग २ विकेटले पराजित भएको थियो।
सिरिज अन्तरगत भोलि नेपालले स्कटल्याण्डको सामना गर्नेछ।
फागुन ३, २०७९ बुधबार १४:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।