कारमा हत्या गरी प्रेमिकाको शव फ्रिजमा, भोलिपल्ट अर्कै युवतीसँग विवाह

कारमा हत्या गरी प्रेमिकाको शव फ्रिजमा, भोलिपल्ट अर्कै युवतीसँग विवाह
तस्बिर: बायाँ-दिल्ली पुलिसका अफिसर, दायाँ- हत्या गरिएकी निक्कीका पिता

एजेन्सी : केही दिनअघि दिल्लीमा श्रद्धा वाल्करको हत्या गरी शवका टुक्रा फ्रिजमा लुकाएर राखेको खबर आएको थियो। फेरि दिल्लीमा यस्तै अर्को घटना बाहिरिएको छ।

दिल्लीमा २४ वर्षीय युवक साहिल गहलोतमाथि प्रेमिका निक्की यादवको हत्या गरी फ्रिजमा शव लुकाएको आरोप लागेको छ। दिल्ली पुलिसको अपराध शाखाका डीसीपी सतीश कुमारले समाचार च्यानलहरूलाई दिएको अन्तर्वार्तामा यसबारे खुलासा गरेका छन्।

सतीश कुमारले भने, ‘फेब्रुअरी ९ मा साहिलको इन्गेजमेन्ट भयो भने १० तारिखमा विवाह तय भयो। तर निक्कीसँग नभएर अर्कै युवतीसँग। निक्कीलाई यसबारेमा थाहा भएपछि उनले साहिललाई भेट्न बोलाइन् ९ तारिखकै बेलुका उनीहरूबीच कारमा भेट भयो। दुवैबीच भनाभनपछि झगडा भयो। साहिलले रिस थाम्न सकेनन्। मोबाइलको केबलले घाँटी थिचेर निक्कीको हत्या गरे। त्यसपछि खेतमा रहेको सानो ढाबाको फ्रिजमा शव लुकाए।’

प्रहरीले साहिल गहलोतलाई पक्राउ गरी सोधपुछ गरिरहेको छ। साहिल र निक्की २०१८ देखि एकअर्कासँग परचित थिए। दिल्लीको उत्तम नगर निवासी निक्कीको शव नजफगढमा भेटिएको दिल्ली प्रहरीले जनाएको छ।

समाचार एजेन्सी एएनआईका अनुसार निक्की यादवका बुबा सुनील यादवले अभियुक्तलाई फाँसीको सजाय दिनुपर्ने माग गरेका छन्। छोरी डेढ महिनादेखि घर नआएको र मृत्युको बारेमा मंगलबार मात्र थाहा भएको उनले बताए।

निक्कीको हत्या गरिएको कार पनि प्रहरीले बरामद गरेको छ। यही कारमा निक्कीको शव लिएर साहिल ढाबासम्म पुगेका थिए। इन्डियन एक्सप्रेसका अनुसार साहिल फार्माका विद्यार्थी हुन्। निक्की र साहिल २०१८ देखि सँगै बस्दै आएका थिए।

सँगै बस्न छाडेर अर्कोसँग विवाह गर्न लागेपछि उनीहरूबीच पछिल्लो समय विवाद भइरहेको थियो। साहिलले १० तारिखमा अर्को केटीसँग विवाहसमेत गरे।

फागुन ३, २०७९ बुधबार १३:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।