गोंगबुमा भएको लुटपाटको विषयमा सांसद्को ध्यानाकर्षण, भन्छन्– ‘सरकार छ भने व्यवसायी किन लुटिनुपर्ने?’
काठमाडौं : प्रतिनिनिसभाको बैठकमा सांसदहरूले गोंगबुमा भएको लुटपाट घटनाको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
बुधबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदद्वय विराजभक्त श्रेष्ठ र शिशिर खनाल तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद् ज्ञानेन्द्र शाहीले मजदुर आन्दोलनका नाममा अराजकता बढिरहँदा राज्य संयन्त्र मुकदर्शक बनेको आरोप लगाएका हुन्।
सांसद् श्रेठले भने, ‘असन्तुष्टि व्यक्त गर्न पाइन्छ, अराजक हुन पाइँदैन। व्यापारीहरू त्यसै त आर्थिक मारमा छन्। गोंगबु घटनाका दोषीलाई सीसीटिभी क्यामेरामा हेरेर भए पनि पक्राउ गरेर कडाभन्दा कडा कारबाहीको माग गर्दछु।’
यस्तै अर्का रास्वपा सांसद् शिशिर खनालले पनि कुनै पनि राजनीतिक आग्रह नराखी घटनाका योजनाकार र सहभागीलाई तुरुन्त कारबाहीको दायरमा ल्याउन माग गरे। आफूलाई ल्होत्से मलमा व्यवसाय गरिहेका व्यापारीले के राज्यले हामीलाई पनि विदेश जान भनेको हो भनेर प्रश्न गरेको समेत उनले बताए।
‘सुनियोजित हिसाबले मजदुर आन्दोलनको नाममा गोंगबुमा रहेको ल्होत्से र कान्तिपुर मलमा तोडफोड गरिँदा करोडौंको क्षति भएको छ। प्रहरी परिचालन प्रभावकारी नहुँदा नहुनुपर्ने क्षति भएको देखिन्छ,’ उनले भने, ‘धन्न स्थानीयले नजिकैको पेट्रोल पम्प जलाउन रोके। कुनै पनि राजनीतिक आग्रह नराखी यस घटनाका योजनकार र सहभागीलाई तुरुन्त कारबाहीको दायरमा ल्याइयोस्। व्यवसायीलाई आवश्यक क्षतिपूर्ति र निर्धक्क व्यवसाय गर्न दिने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउँछु।’
त्यसैगरी राप्रपा सांसद् शाहीले पनि प्रधानमन्त्री निवासभन्दा तीन किलोमिटरमा रहेको गोंगबुमा भएको लुटपाटमा संलग्नलाई कारबाहीको माग गरे। लुटपाट हुँदासमेत प्रहरी निकम्मा भएर बसकेको भन्दै उनले असन्तुष्टिसमेत प्रकट गरे।
उनले भने, ‘यो देशमा सरकार छ भने करोडौं लगानी गरेका व्यवसायीहरू दिनदहाडै किन लुटिएका छन्?, सरकार छ भने हामी मजदुरका लागि किन ऐन बनाउँदैनौं? सरकार छ भने प्रहरीलाई निकम्मा बनाउने को हो?’
गृहमन्त्री नियुक्त नगरिएको विषयमा प्रश्न उठाउँदै सांसद् शाहीले तत्काल गृहमन्त्री नियुक्त गर्न आग्रह गरे।
‘प्रधानमन्त्रीले मात्र सबै मन्त्रालय सम्हाल्ने हो भने अन्य मन्त्रालय किन बनाएको? सबका सब प्रधानमन्त्रीलाई मन्त्रालय दिएर खाली गरे भइहाल्यो नि?’
देशमा लोकतन्त्रको नाममा लुटतन्त्र हाबी भएको उनले बताए।
फागुन ३, २०७९ बुधबार १२:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।