फिक्सिङकै योजनामा नेपाल टी–२० लिग आयोजना गरिएको सिआईबीको निष्कर्ष, १२ जना संलग्न

फिक्सिङकै योजनामा नेपाल टी–२० लिग आयोजना गरिएको सिआईबीको निष्कर्ष, १२ जना संलग्न

काठमाडौं : फिक्सिङ गरेर पैसा कमाउने रणनीति अनुसार नै भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसले नेपाल टी–२० आयोजनाको जिम्मा लिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले निष्कर्ष  निकालेको छ। 

अनुसन्धान सक्काएर जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको प्रस्तावित राय सुझावमा आयोजक संस्था सेभेन थ्री स्टारका सञ्चालकहरू जतिन अहलुवालिया, अभिशेख शाखलानी र विनोद धानीनै स्पट फिक्सिङमा संलग्न रहेको उल्लेख छ।

सिआइबीको राय सुझावमा यी सबैविरुद्ध अभियोग लगाउन सिफारिस गरिएको छ। यी सबै भारतीय नागरिक हुन्। फिक्सिङबारे अनुसन्धान शुरू भएपछि प्रतियोगिता नै नसकिइ उनीहरू भागेका थिए।

सिआइबीको प्रतिवेदन अनुसार विराटनगर सुपर किंग्सका राहुल शर्मा, पूर्वखेलाडी महबुब आलम, राष्ट्रिय टिमका खेलाडी मोहमद आदिल आलम र वीरगन्जका क्रिकेटर नितेश गुप्ता स्पट फिक्सिङमा संलग्न देखिएको भन्दै पक्राउ नै परेका छन्।

यो घटनामा पक्राउ परेका उनीहरू नै हुन्। विराटनगर टिमको कप्तान रहेका वेस्टइन्डिजका खेलाडी एन्ड्री म्याकार्थीले बुकीको प्रस्ताव अनुसार खुलेर स्पट फिक्सिङमा संलग्न भएको प्रहरीको निष्कर्ष छ।

अनुसन्धानमा सप्तरीका रवि माझी र समीर शेख बुकीको भूमिकामा देखिएका छन्। उनीहरूले नै विभिन्न टिमका खेलाडीलाई फिक्सिङको प्रस्ताव राखेको सिआइबी अनुसन्धानको निष्कर्ष देखिन्छ।

प्रतियोगितामा संलग्न ६ टिममध्ये काठमाडौं नाइट्सका मालिक नवीन कँडेल स्पट फिक्सिङमा संलग्न देखिएको सिआईबीको प्रस्तावित राय सुझावमा उल्लेख छ।

उनले लगानीको स्रोत खुलाउन नसकेको र टिमकै सदस्य फिक्सिङमा संलग्न देखिएकाले प्रतिवादी बनाउन सुझाव दिएको सिआईबीका एसएसपी दिनेश आचार्यले उकेरालाई जानकारी दिए।

प्रतियोगितामा संलग्न ६ टिममध्ये पोखरा एभेन्जर्स र काठमाडौं नाइट्सले नेपालमै खेलाडी लगायतका व्यवस्थापकलाई भुक्तानी दिएको खुलेको छ। तर, अन्य ४ कम्पनीले नेपाल बाहिरबाटै भुक्तानी दिएका थिए।

विदेशी कम्पनीले नेपालमा पनि कम्पनी दर्ता गरेका थिए। तर, नेपालमा दर्ता भएको कम्पनीबाट आर्थिक कारोबार भएको अनुसन्धानमा देखिएन।

प्रहरीको प्रस्तावित राय सुझावको हुबहु अभियोग पत्र नबन्न पनि सक्छ। प्रहरीको प्रतिवेदन अनुसार प्रमाण लगायतको पक्षको मुल्यांकन गरेर सरकारी वकिलले अभियोग पत्र दर्ता गर्नसक्छ।

क्यानका अध्यक्ष पनि शंकामा 
क्रिकेट एसोसिएसनका अध्यक्ष चतुरबहादुर चन्दको जोडबलमा सेभेन थ्री स्टार्सले नेपाल टी–२० को जिम्मा पाएको थियो।

अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा जबरजस्ती प्रतियोगिता गराउनु, क्यानभित्र विवाद हुँदा पनि जबरजस्ती भारतीय कम्पनीलाई प्रतियोगिता जिम्मा दिने गतिविधिले चन्दको भूमिका समेत शंकास्पद देखिन्छ।

लिगको अनुमति दिँदा चन्द आर्थिक प्रलोभनमा परेको शंकामा सिआईबीले अनुसन्धान गरे पनि प्रतिवादी बनाउने तहको प्रमाण फेला नपरेको अनुसन्धानमा संलग्न स्रोतले बतायो।

फागुन ३, २०७९ बुधबार १०:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।