संवैधानिक निकायका ५२ पदाधिकारीविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आज

संवैधानिक निकायका ५२ पदाधिकारीविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आज

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नियुक्त भएका विभिन्न संवैधानिक निकायका ५२ पदाधिकारी विरुद्धको मुद्दाको आज संवैधानिक इजलासमा अन्तिम सुनुवाइ हुँदैछ।

पटक–पटक सुनुवाइ प्रभावित भएपछि सर्वोच्च अदालतले ११ साउन २०७९ मा पेशी नसर्ने र मुद्दा स्थगित नहुनेगरी व्यवस्था गर्न आदेश दिँदै बुधबारका लागि पेशी तोकिए हो।

ओली प्रधानमन्त्री भएका बेला प्रक्रिया नपुर्याई संवैधानिक परिषद्को बैठक डाकिएको र त्यो असफल भएपछि अध्यादेशका आधारमा बैठक डाकेर संवैधानिक पदाधिकारी नियुक्तिका लागि नाम सिफारिस गरिएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको हो।

अधिवक्ता ओमप्रकाश अर्याल लगायतले संवैधानिक पदाधिकारीहरुको नियुक्तिका क्रममा कयौं संवैधानिक, कानूनी र प्रक्रियागत त्रुटी रहेको भन्दै नियुक्ति खारेज हुनुपर्ने माग गरेका छन्।

तत्कालीन प्रधानमन्त्री ओलीले प्रक्रिया मिचेर संवैधानिक परिषदको बैठक डाकेको, गणपुरक संख्या नभएको अवस्थामा पदाधिकारी सिफारिसको निर्णय गरेकाले प्रक्रिया मिचिएको रिट निवेदनमा दावी छ।

साथै प्रतिनिधिसभा विघटन भएकाले संसदीय सुनुवाइ नै नहुने अवस्थामा नाम सिफारिस गरेर उनीहरुको जवर्जस्ती नियुक्ति गरिएको भन्दै रिट निवेदनमा सबै नियुक्ति बदर हुनुपर्ने माग छ।

फागुन ३, २०७९ बुधबार ०९:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।