प्रदेश स्थापना दिवसका अवसरमा लुम्बिनीमा आज सार्वजनिक बिदा
बुटवल : लुम्बिनी प्रदेश सरकारले बुधवार स्थापना दिवस मनाउँदैछ। प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिइएको छ।
लुम्बिनी प्रदेश सरकार स्थापनाको पाँच वर्ष पूरा भएको अवसरमा एक समारोहकाबीच राजधानी देउखुरीमा स्थापना दिवस मनाउन लागिएको हो।
स्थापना दिवसमा सम्मान तथा विभूषण प्रदान गर्ने कार्यक्रम रहेको प्रदेश सरकारका प्रवक्ता चेतनारायण आचार्यले बताए। कार्यक्रमको औपचारिक उद्घाटन प्रदेश प्रमुख अमिक शेरचनले गर्ने भएका छन्।
स्थापना दिवसको अवसरमा शुभकामना सन्देश दिँदै मुख्यमन्त्री लीला गिरीले स्थायी राजधानी दाङको राप्ती उपत्यका देउखुरीबाट शुन्यदेखि व्यवस्थापनको कार्य थालनी गरिएको बताएका छन्।
सन्देशमा भनिएको छ, ‘नदी सभ्यतामा आधारित समुन्नत र योजनाबद्ध सहरसहितको व्यवस्थित राजधानी निर्माण गर्ने कामलाई पूरा गर्ने संकल्प लिएका छौं।’
यस्तै मुख्यमन्त्री गिरीले बितेका पाँच वर्षमा संघीयता कार्यान्वयनको सन्दर्भमा भएका कार्यलाई निरन्तरता दिँदै प्रदेश सरकारले विकास, समृद्धि र सुशासनलाई केन्द्रविन्दूमा राखेर ‘समृद्ध प्रदेश आत्मनिर्भर लुम्बिनी’को लक्ष्यलाई कार्यान्वयन गर्न दत्तचित्त रहेको उल्लेख गरेका छन्।
फागुन ३, २०७९ बुधबार ०८:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।