जितसँगै बनेका यी चार कीर्तिमान

जितसँगै बनेका यी चार कीर्तिमान

काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तरगत नेपालमा भएको नेपाल, नामिबिया र स्कटल्याण्डबीचको त्रिदेशीय सिरिजको पहिलो खेलमा आयोजकले नामिबियालाई स्तब्ध बनायो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हजारौं घरेलु दर्शमाझ भएको खेलमा नेपालले पाहुना टोलीलाई २ विकेटले हरायो। नेपालका कुशल भुर्तेल र कप्तान रोहित पौडेलले ब्याटको जादु चलाए।

भुर्तेलले एकदिवसीय क्रिकेटमा पहिलो शतक बनाउँदा यसअघि नै शतकको स्वाद चाखिसकेका कप्तान पौडेल दोस्रो शतक बनाउने मुडमा देखिन्थे। तर प्रयास अधुरै रह्यो। भुर्तेलले ११५ रन बनाउँदा पौडेलले ७२ रन जोडे।

बलिङतर्फ ‘भ्यालेन्टाइन ब्वाइ’को उपनाम पाएका करण केसीले पाँच विकेट लिए। बलात्कार आरोप लागेर जेल परेका सन्दीपले पाँच महिनापछि क्रिकेट मैदानमा देखिए। उनले तीन विकेट हात पारे। व्यक्तिगत पहिलो ओभरको दोस्रो बलमा विकेट लिएपछि उनी भावुक बने।

जितसँगै आजको खेलमा विभिन्न कीर्तिमानसमेत बने। नेपालको लागि ओपनर भुर्तेल र कप्तान पौडेलले व्यक्तिगत कीर्तिमान बनाउँदा टिमको नाममा पनि कीर्तिमान बन्यो। के हुन् त ती कीर्तिमान?

उच्च लक्ष्य पूरा
नेपालले आजको खेलमा एकदिवसीय खेलमा सबैभन्दा उच्च रनको लक्ष्य पूरा गरेर कीर्तिमान बनायो।

२५५ रनभन्दा माथिको लक्ष्य पूरा गर्न नसकेको नेपालले आज नामिबियाले दिएको २८६ रनको लक्ष्य पूरा गर्यो। लक्ष्य पूरा गर्ने क्रममा नेपालले ४७.४ ओभर खेलेर ८ विकेट गुमायो।

यसअघि २०१९ मा युएईमा भएको खेलमा नेपालले युएईविरुद्ध २५५ रनको लक्ष्य पूरा गरेको थियो। उक्त खेलमा पारस खड्काले शतक प्रहार गरेका थिए। १०९ बल खेलेका उनले १५ चौका र १ छक्कासहित ११५ रन बनाएका थिए।

एक हजार रन पूरा
नामिबियाविरुद्धको खेलमा नेपालले एक दिवसीय क्रिकेटमा १ हजार रन पूरा गर्ने पहिलो खेलाडीसमेत पायो। कप्तान रोहित पौडेलले १ हजार रन पूरा गरेर कीर्तिमान बनाए।

ओडिआइ क्रिकेटमा १ हजार रन पूरा गर्ने उनी पहिलो नेपाली खेलाडी हुन्। ३२ इनिङ्स खेलेका उनले यसअघि नै ९४५ रन बनाएका थिए। ३३औं इनिङमा ७२ रन थपेसँगै उनले एकदिवसीय क्रिकेटमा १ हजार १७ रन जोडे।

गत वर्ष पपुवा न्युगिनीविरूद्धको एकदिवसीय खेलमा रोहितले १२६ रन प्रहार गर्दै ओडिआई क्रिकेटमा पहिलो शतक बनाएका थिए।

ठूलो साझेदारी (पार्टनरसीप)
आजकै खेलमा नेपालले एकदिवसीय क्रिकेटमा सबैभन्दा ठूलो साझेदारीको कीर्तिमान बनायो। ओपनर भुर्तेल र कप्तान पौडेलले यो कीर्तिमान बनाए।

उनीहरूले तेस्रो विकेटका लागि १३३ रनको साझेदारी गरे। यो कुनै पनि विकेटका लागि नेपाली खेलाडीले गरेको अहिलेसम्मको सबैभन्दा ठूलो साझेदारी हो।

यसअघि गतवर्ष ओमानविरुद्धको खेलमा पहिलो विकेटका लागि कुशल भुर्तेल र आशिफ शेखले ११४ रनको साझेदारी गरेका थिए। त्यो नै एकदिवसीय क्रिकेटको अहिलेसम्मको ठूलो साझेदारी थियो।

शतक हान्ने पहिलो ओपनर
मंगलबारकै खेलमा नेपालले एकदिवसीय क्रिकेटमा शतक प्रहार गर्ने पहिलो ओपनर देशले पायो। अहिलेसम्म ओपनिङमा गएका कुनै पनि नेपाली खेलाडीले शतक बनाउन सकेका थिएनन्।

कीर्तिमानी बनाउने क्रममा ओपनर कुशल भुर्तेलले ११५ रन बनाए। ११३ बलको सामना गरेका उनले १० चौका र ४ छक्काको मद्दतमा ११५ रन बनाए।

नेपालको तर्फबाट एक दिवसीय क्रिकेटमा शतक प्रहार गर्ने भने उनी चौथो खेलाडी हुन्।

यसअघि पारस खड्काले युएईविरुद्धको खेलमा ११५, दीपेन्द्रसिंह ऐरीले पपुवा न्यूगिनीविरुद्धको खेलमा १०५ र रोहित पौडेलले पनि पपुवा न्यूगिनीविरुद्धको खेलमा १२६ रन प्रहार गर्दै एकदिवसीय क्रिकेटमा शतक प्रहार गरेका थिए।

फागुन २, २०७९ मंगलबार १८:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।