नामिबियाविरुद्ध नेपालको कीर्तिमानी जित, कुशल र राेहितकाे शानदार प्रदर्शन
काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तरगत कीर्तिपुरमा जारी त्रिदेशीय सिरिजको पहिलो खेलमा नेपालले कीर्तिमानी जित दर्ता गरेको छ।
नामिबियालाई २ विकेटले पराजित गर्दै आयोजक नेपालले एक दिवसीय खेलमा उच्च रनकाे लक्ष्य पूरा गर्दै कीर्तिमान जित दर्ता गरेको हो।
यसअघि नेपालले सन् २०१९ जनवरी २८ मा भएको युएईविरुद्धकाे तीन खेलकाे एकदिवसीय सिरजमा २५५ रनकाे लक्ष्य पूरा गरेको थियाे।
पहिलो खेलमा विजयी सुरुवात गरेको हो। २८६ रनको लक्ष्य पछ्यएाको नेपालले १४ बल बाँकी छँदै ८ विकेट गुमाएर लक्ष्य भेट्टायो।
नेपालका लागि ओपनर कुशल भुर्तेल र कप्तान राेहित पौडेलले क्रमश: शतकीय र अर्धशतकीय पारी खेले। भुर्तेलले ११३ बलमा ४ छक्का र १० चौकाकाे मद्दतमा सर्वाधिक ११५ रनको इनिङ खेले।
कप्तान रोहित पौडलले सात चौका र तीन छक्काको मद्दतमा ७२ रन जाेडे।
सन्दीप जोरा २८, ज्ञानेन्द्र मल्ल २५ बनाउँदा करण केसी र सोमपाल कामी नटआउट क्रमशः २० र ४ रन बनाए। दीपेन्द्रसिंह ऐरी ७, कुशल मल्ल ६, आशिफ शेख र सन्दीप लामिछाने १ रन पनि नबनाइ पेभेलियन फर्किए।
बलिङतर्फ नामिबियाका जान निकोल लोफ्टि इटोन र रुबेन ट्रम्पेलमनले समान तीन–तीन विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङमा तानिएको नामिबियाले निर्धारित ५० ओभरमा अल आउट हुँदै २८५ रन बनाएको थियो।
नामिबियिका लागि ब्याटर माइकल भान लिंगेनले नेपालविरुद्ध शतक प्रहार गरे। भान लिंगेनले १३७ बलमा ९ चौका र ५ छक्कासहित १३५ रनको योगदान दिए।
उनको विकेट करण केसीले झारेका थिए। करणले नेपालका लागि पाँच विकेट लिए।
त्यसैगरी, नामिबियिका लागि कप्तान इरासमसले ५६ रन जोडेका थिए।
बलिङतर्फ नाबालिग बलात्कार आरोप लागेका कारण पाँच महिनापछि मैदानमा फर्किएका पूर्व कप्तान सन्दीप लामिछानेले ३ विकेट लिए।
जितसँगै नेपाल २५ खेलमा २० अंक जोडेर छैटौंमा रहँदा नामिबिया ३१ खेलमा ३७ अंक जोडेर तेस्रो स्थानमा छ।
यस्तै सिरिज अन्तर्गत नै नेपालले आफ्नो दोस्रो खेल शुक्रबार स्कटल्याण्डसँग खेल्नेछ भने नामिबियाले भोलि बुधबार स्कटल्याण्डसँग खेल्नेछ।
फागुन २, २०७९ मंगलबार १७:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।