बालाजु वृत्तका डीएसपी विष्ट रानीपोखरी तानिए
काठमाडौं : यातायात मजदुरको आन्दोलनमा सुरक्षा व्यवस्थापन गर्न नसकेको आरोपमा प्रहरी वृत्त बालाजुका डीएसपी रविन विष्ट उपत्यका प्रहरी कार्यालयमा तानिएका छन्।
पार्किङको विवादमा आन्दोलित भएका यातायात मजदुरहरूले प्रहरीको दुईवटा गाडी जलाएका थिए भने मोवाइल पसल लुटिएको थियो।
आन्दोलनमा चुस्त सुरक्षा प्रवन्ध नगरेको र सुरक्षामा चुक देखिएको भन्दै कार्यालयले मंगलबार उनलाई रानीपोखरीमा तानेर उनको स्थानमा डीएसपी मनोजित कुँवरलाई पठाएको छ।
माछापोखरी क्षेत्रमा यातायात मजदुरहरूले आन्दोलनको क्रममा प्रहरी वृत्त बालाजुको स्वामित्वमा रहेको दुईवटा गाडी जलाएका थिए।
उनीहरूले डीएसपी विष्ट चढ्ने बा.२ झ १४४ नम्बरको स्कोर्पियो (पिकअप) र प्रहरी वृत्त बालाजुको बा.१ झ ७२२४ नम्बरको माज्दा गाडी जलाएका थिए। साथै केही व्यक्तिले नजिकैको मलमा तोडफोड गरेर मोवाइल समेत लुटेका थिए।
फागुन २, २०७९ मंगलबार १२:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।