राष्ट्रिय सभाको बैठक बस्दै, यी हुन आजका सम्भावित कार्यसूची

राष्ट्रिय सभाको बैठक बस्दै, यी हुन आजका सम्भावित कार्यसूची
फाइल तस्बिर

काठमाडौं: राष्ट्रिय सभाको तेह्रौँ अधिवेशनको आठौँ बैठक आज बस्दैछ। आज अपराह्न ४ बजेका लागि बैठक बोलाइएको छ।

आजको बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७९/०८० को बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदनको सम्बन्धमा वक्तव्य दिनेछन्। यस्तै दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले "दिगो विकास तथा
सुशासन समितिको वार्षिक प्रतिवेदन २०७८ / ०७९ सभा समक्ष पेश गर्नेछन्।

यस्तै राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती) ले “राष्ट्रिय सरोकार तथा समन्वय समितिको आ.व. २०७५/०७६, ०७६/०७७ र ०७७/०७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन मूल्याङ्कन प्रतिवेदन २०७९” सभा समक्ष पेश गर्नेछिन्।

आजकै राष्ट्रिय सभा बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७९/०६/२८ गतेको निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुकाउ आदेश सभा समक्ष पेश गर्नेछन्।

यस्तै प्रतिनिधि सभाका पूर्व सदस्य कर्मा घलेको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने समेत आजको कार्यसूचीमा रहेको छ।

फागुन २, २०७९ मंगलबार ०८:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।