आन्दोलनरत यातायात मजदूरलाई वार्ताका लागि मन्त्रालय बोलाइयो

आन्दोलनरत यातायात मजदूरलाई वार्ताका लागि मन्त्रालय बोलाइयो

काठमाडौं: सरकारले आन्दोलनरत यातायात मजदूरलाई वार्ताका लागि मङ्गलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय बोलाएको छ। आज बिहान ८ बजे वार्ताका लागि मन्त्रालयमा आह्वान गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक तुलसी गौतमले जानकारी दिए।

विभागले सबै पक्षलाई संयमित हुन आग्रह गर्दै पूर्वघोषित तथा अघोषित सबै मागबारे छलफलबाट समाधान गर्न पनि आग्रह गरेको छ।

यातायात व्यवसायीले नयाँ बसपार्कभित्र आफ्ना कम्पनीको सवारीसाधन ‘पार्क’ गर्न लोत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरे पनि मजदूरले भने त्यसको विरोध गरेका छन्। विसं २०५६ मा काठमाडौं महानगरपालिकाले ‘सार्वजनिक–निजी साझेदारी’अन्तर्गत लोत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरेर काठमाडौं महानगरपालिका–२६ गोङ्गबुस्थित विष्णुमती किनारामा राष्ट्रिय बसपार्क सञ्चालनमा ल्याएको थियो।

उक्त बसपार्कबाट सार्वजनिक सवारीसाधन सञ्चालन गर्नेबारे यातायात व्यवसायीहरूको छाता सङ्गठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घसँग सम्झौता गरेर बसहरू देशका विभिन्न भागमा ओहोर–दोहोर गर्दै आएका छन्। सार्वजनिक ठूला बस नयाँ बसपार्कबाट सञ्चालनमा आए पनि माइक्रोबस र केही बस भने अहिले नयाँ बसपार्क र गोङ्गबु चोकको बीचको सडकबाट सञ्चालन हुँदै आएका छन्।

पछिल्लो समय नयाँ बसपार्क र गोङ्गबु चोकको बीचको सडक विस्तार हुने क्रममा रहेपछि त्यहाँबाट सञ्चालन हुँदै आएका बस र माइक्रोबस नयाँ बसपार्कबाट सञ्चालन गर्नेबारे व्यवसायीसँग छलफल भइरहेको बेलामा केही व्यवसायी तथा मजदूर सडकबाट बस सञ्चालन गर्न पाउनुपर्ने अडान राखेर आन्दोलनमा उत्रिएका जनाइएको छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले एक विज्ञप्ति जारी गरी सोमबार नयाँ बसपार्कमा भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले समस्याको समाधान गर्न सबै पक्ष संयमित भई आ–आफ्नो ठाउँबाट पहल गर्न अपिल समेत गरेका छन्।

फागुन २, २०७९ मंगलबार ०७:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।