आज प्रेम दिवस: यस्तो छ 'भ्यालेन्टाइन्स डे'को इतिहास
काठमाडौंः विश्वभर आज 'भ्यालेन्टाइन्स डे' अर्थात् प्रेम दिवस मनाइँदै छ। फेब्रुअरी १४ तारिखमा मनाइने यस दिनलाई प्रेम अभिव्यक्त गर्ने दिनमा रूपमा मनाउने गरिन्छ।
पछिल्लो समय नेपालमा समेत यो दिन उत्सव नै जस्तो लोकप्रिय हुँदै गएको छ। विभिन्न उमेर समूहका प्रेमिल जोडीहरू एकअर्काप्रति प्रेम अभिव्यक्त गरिरहेका हुन्छन्।
प्रेम दिवसको सुरुआत भने सन् २६९ मा भएको विश्वास गरिन्छ। प्रचीन रोमका तत्कालीन सम्राट क्लाउडियस द्वितीय प्रेम र विवाहको विरुद्धमा थिए। उनी यस्ता कुराले सैनिकहरू कमजोर हुन्छन् भन्ने विश्वास गर्थे।
तर रोमका पादरी सन्त भ्यालेन्टाइन भने सम्राटको सोचको विरुद्धमा थिए। उनले एक सैनिकको विवाह गराइदिए।
यसको बदलामा क्लाउडियसले उनलाई पक्रेर मृत्युदण्डको सजाय सुनाए। उनलाई जेलमा राखे। जेलमै रहँदा जेलरकी छोरीसँग उनको प्रेम भयो। ती युवती दृष्टिविहीन थिइन्। र मृत्युदण्ड दिनुअघि भ्यालेन्टाइनले 'लभ फ्रम योर भ्यालेन्टाइन' अर्थात् तिम्रो भ्यालेन्टाइनबाट सप्रेम भन्ने हस्ताक्षरसहितको प्रेम पत्र ती युवतीलाई दिए।
सँगै आफ्ना आँखा पनि ती युवतीलाई दिए। जसका कारण उनको दृष्टि फर्कियो।
सन् २६९ को फेब्रुअरी १४ मा भ्यालेन्टाइनलाई मृत्युदण्ड दिइयो। भ्यालेन्टाइनले प्रेमका लागि गरेको त्यागको सम्झनामा नै प्रेम दिवस मनाउने गरिएको हो।
फागुन २, २०७९ मंगलबार ०७:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।