उकेरा टप फाइभ : काठमाडौंमा प्रहरीका दुई भ्यान जलाइयो, ८० सालमा ३५ वटा विवाहका लगन
सोमबार काठमाडौं तनावग्रस्त बन्यो। यातायात व्यवसायी र मजदुरले पहिलो पटकको कारबाहीमै १५ सय रुपैयाँ लिने ट्राफिक प्रहरीको कदमविरुद्ध आन्दोलनमा उत्रिए।
उनीहरुलाई नयाँ बसपार्क छिर्न रोकेपछि भीड आक्रोशित बन्यो र दिनभरजसो बालाजु क्षेत्र तनावग्रस्त बन्यो। भीडले प्रहरीको दुईवटा भ्यान र अस्थायी प्रहरी बिटमा आगजनी गर्यो भने साँझपख ल्होत्से मलमा समेत तोडफोड गर्यो। आजको घटनामा उनीहरुले भोलिदेखि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात सञ्चालनमा रोक लगाउने निर्णय गरे।
यस्तै नेपालको दुईदिने भ्रमणमा आएका भारतीय विदेश मन्त्रालय सचिवले उच्चपदस्थ व्यक्तित्व र राजनीतिक दलका नेतृत्वसँग भेटघाट गरे। उनले मंगलबार पनि उच्च पदस्थ व्यक्तित्वहरुसँग भेटलाई जारी राख्नेछन्।
सोमबार नै राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कमिटीको बैठक बसेर १६ जना केन्द्रीय सदस्य मनोनित गर्यो। जसमा ज्वाला संग्रौला, रमेश प्रसाई, क्रान्तिशिखा धिताल लगायत अन्य पनि छन्। उसले तत्काल सरकारमा सहभागी नहुनेसमेत निर्णय गर्यो।
यसैदिन झापामा पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्व युवराज पारस शाहलाई सँगै राखेर व्यवसायी दुर्गा प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान सुरु गर्यो। उता सुदूरपश्चिमको कञ्चनपुर जिल्ला र काठमाडौंकै विभिन्न कार्यक्रममा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ‘जनयुद्ध दिवस’को अवसरमा सम्बोधन गरे।
अब लागौं टप फाइभतर्फः
उकेराले सोमबार विहान स्थायी राजधानीमा अस्थायी संरचना बनाउने प्रदेश सरकारको हुटहुटी बढेको भन्दै राप्ती प्राविधिक शिक्षालयले हुर्काएको सयौँ रुख काट्न थालिएको समाचार प्रकाशित गर्यो।
पूरा समाचारः स्थायी राजधानीमा अस्थायी संरचना बनाउने प्रदेश सरकारको हुटहुटी, राप्ती प्राविधिक शिक्षालयले हुर्काएको सयौँ रुख काट्न थालियो
यस्तै सोमबार दिउँसो नियमित स्तम्भ भुइँमान्छे स्तम्भमा पृथ्वीनारायण शाहले गोरखाबाट ल्याएको नगराका पुजारी सुमनको बारेमा समाचार प्रकाशित गर्यो। महानगरले तलब दिने उनले आफ्ना अनुभव उकेरासँग साटेका छन्।
पूरा समाचारः पृथ्वीनारायण शाहले गोरखाबाट ल्याएको नगराका पुजारी सुमन, जसलाई काठमाडौं महानगरले तलब दिन्छ
वैदेशिक रोजगारीमा गएका महिलाहरुले विदेशमा शोषण र नेपाल फर्केपछि भोग्नुपरेको तिरस्कारको बारेको समाचार उकेराले अपरान्ह प्रकाशित गर्यो। समाचारमा विदेश गएर फर्किएका केही महिलाहरुको अनुभवसमेत समेटिएको छ।
पूरा समाचारः वैदेशिक रोजगारीमा महिला : विदेशमा शोषण, फर्केपछि तिरस्कार
यस्तै, अपरान्ह बालाजु क्षेत्रमा यातायात व्यवसायीको आन्दोलन उग्र भएको समाचार उकेराले छाप्यो। व्यवसायीको आन्दोलन उग्र भएपछि उनीहरूले प्रहरीको दुईवटा भ्यान र अस्थायी प्रहरी बिट जलाए। उनीहरूले भोलिदेखि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात बन्दको घोषणा गर्यो।
पूरा समाचारः भोलिदेखि काठमाडौंमा सार्वजनिक यातायात बन्द गर्ने मजदुर संघको घोषणा (विज्ञप्ति)
बेलुकी उकेराले २०८० सालमा भएका विवाह, ब्रतबन्ध र विभिन्न मुख्य चाडपर्वको बारेमा समाचार प्रकाशित गर्यो। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले निकालेको आगामी वर्षका पात्रोमा भएका दशैं, तिहार र अन्य चाडपर्वलाई समाचारमा समेटिएको छ।
पूरा समाचारः ८० सालमा ३५ वटा विवाहको लगन, कुन महिनामा कति?
फागुन १, २०७९ सोमबार २२:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।