बीमा दाबी गर्न आफ्नै गाडीमा आगजनी, चालक पक्राउ

बीमा दाबी गर्न आफ्नै गाडीमा आगजनी, चालक पक्राउ

बर्दिया : बीमा दाबी गर्ने मनासयले आफ्नै गाडीमा आगजनी गर्ने एक चालकलाई प्रहरीले पक्राउ गरेको छ।

लु.२ ख २०८४ नम्बरको फोर्स गाडीमा आगजनी गरेको अभियोगमा गाडीका चालक मधुवन नगरपालिका-२ गंगापटुवा बस्ने रामु चौधरीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो।

मधुवन नगरपालिका-४ बसन्तास्थित माचड चोकदेखि भुरिगाउँ जोड्ने पक्की सडकमा गएराति उक्त गाडीमा आगलागी भई पूर्ण रूपमा जलेर नष्ट भएको थियो।

ईलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले घटनाको अनुसन्धान गर्ने क्रममा उक्त गाडीका चालक चौधरीलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उनको संलग्नता रहेको खुल्न आएको हो।

माघ २० गते बिग्रिएकोले मर्मतको लागि ग्यारेजमा लगेको र मर्मत गर्न बढि रकम लाग्ने भएपछि डिजल छर्किएर आगो लगाएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ।

फागुन १, २०७९ सोमबार १८:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।