सत्याग्रहबाट संघर्षमा झरे गोविन्द केसी, निकाले विज्ञप्ति
काठमाडौं : चिकित्सा शिक्षा सुधारका अभियन्ता भनेर चिनिने डाक्टर गोविन्द केसी सत्याग्रहबाट संघर्षमा झरेका छन्।
यसअघि विज्ञप्ति निकाल्दा विज्ञप्तिपिच्छे मागसँगै सत्याग्रह भन्दै आएका डाक्टर केसीले यसपटक कडा संघर्षका कार्यक्रम सुरु गर्ने चेतावनी दिएका हुन्।
सोमबार निकालेको एक विज्ञप्तिमा उनले गेटामा मेडिकल कलेज सञ्चालनका लागि यसअघि चलिरहेको प्रक्रियालाई गति दिन तथा सबै प्रदेशमा कम्तीमा एकसहित आफूसँग भएको सहमतिअनुसार मेडिकल कलेज निर्माणको कामलाई अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
उनले निर्मला कुर्मीको न्यायका लागि झण्डै डेढ महिनादेखि आन्दोलनरत अभियन्ताहरूको माग तत्काल पूरा गर्नका लागि पनि ध्यानाकर्षण गराएका छन्।
उनको विज्ञप्तिमा लेखिएको छ, ‘त्यसो नभएमा कुनै पनि बेला कडा संघर्षका कार्यक्रम शुरु गर्न बाध्य हुने पनि जानकारी गराउन चाहन्छौं।’
फागुन १, २०७९ सोमबार १५:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।