भारत–अस्ट्रेलियाको तेस्रो टेस्ट धर्मशालामा नहुने, अन्तिम समयमा इन्दोर सारियो

एजेन्सी : भारत र अस्ट्रेलियाबीचको तेस्रो टेस्ट धर्मशाला स्टेडियममा नहुने भएको छ।
हिमाचल प्रदेशको धर्मशाला क्रिकेट रंगशालामा हुने भनिएको खेल अन्तिम समयमा आएर इन्दोरको होल्कर स्टेडियममा सारिएको हो।
खराब आउटफिल्डका कारण अन्तिम समयमा यस्तो निर्णय लिनुपरेको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले जनाएको छ।
ड्रेनेज सिस्टमका लागि धर्मशाला रंगशालाको पिचबाहेक पुरै आउटफिल्ड खनिएको थियो। त्यसपछि, बाहिरी मैदानमा घाँस नयाँ रोपियो।
जाडो मौसमका कारण घाँस पूर्ण रूपमा तयार हुन नसक्दा क्रिकेटर घाइते हुने सम्भावना हुन्छ।
सन् २००३ मा बनेको धर्मशाला रंगशालामा अहिलेसम्म एक टेस्ट र ४ ओडिआई र तीन टी–२० खेलिएको छ। यो टेस्ट सन् २०१७ मा भारत र अस्ट्रेलियाबीच भएको थियो।
प्रत्यक्ष हिमाल देखिने भएकाले धर्मशाला रंगशालालाई विश्वका सुन्दर रंगशालामध्ये एक मानिन्छ। २३ हजार दर्शक क्षमता भएको यो रंगशाला १ हजार ४५७ मिटरको उचाइमा छ।
फागुन १, २०७९ सोमबार १५:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।