बुटवलको पशु बधशाला सञ्चालनको तयारी
बुटवल : बुटवलमा निर्माण भएको पशु बधशाला सञ्चालनमा आउने भएको छ।
बधशाला सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिका बीच सहमति भएको छ। यद्यपि सञ्चालनको मिति भने तय भइसकेको छैन।
सार्वजनिक, निजी, सहकारी साझेदारी अवधारणा बमोजिम बधशालालाई व्यवस्थित रूपमा सञ्चालन गर्ने गरी बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिलाई जिम्मा दिइने उपमहानगर प्रमुख खेलराज पाण्डेयले बताए।
बधशाला सञ्चालनमा बाख्रापालन गर्ने किसानदेखि मासु बिक्री गर्ने व्यवसायीसम्म बधशाला निर्माण र सञ्चालनमा साझेदार रहेको र सोहीअनुसार बधशाला सञ्चालन हुने उनको भनाइ छ।
बधशाला सञ्चालनका लागि बुटवल उपमहानगरपालिकाले नगरसभाबाट पशु बधशाला सञ्चालन र व्यवस्थापन विधेयक २०७९ पारित गरेको छ।
विधेयकले पशु बधशाला सञ्चालन तथा व्यवस्थापन गर्ने, मापदण्ड पूरा गरी बध गर्ने, बिक्री केन्द्रसम्म ओसारपसार गर्दा मापदण्ड पूरा भएका साधनको मात्रै प्रयोग गर्ने, मासु बिक्री गर्न इजाजत पत्र लिनुपर्नेजस्ता व्यवस्था गरेको छ।
कानूनी हिसाबले समेत सहज हुने गरी बधशाला सञ्चालन हुने र यसले बुटवलबासीले स्वस्थ र स्वच्छ मासु उपभोग गर्न पाउने नगर प्रमुख पाण्डेयले बताए।
बधशाला सञ्चालनका लागि एकसाताभित्र विस्तृत सम्झौता हुने र लगत्तै सञ्चालन हुने गरी सहमति भएको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए।
बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिसमेत रहेका रुपन्देही मासु व्यवसायी संघका अध्यक्ष कृष्णप्रसाद पौडेलले बुटवल उपमहानगरपालिकासँग पशु बधशाला सञ्चालनका लागि देखिएका अन्योल टुंगिएकाले छिटै नै बधशाला सञ्चालन हुने जानकारी दिए।
बधशाला सञ्चालन र व्यवस्थापन गर्ने बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिले बुटवल उपमहानगरपालिकालाई वार्षिक ४७ लाख ३० हजार रुपैयाँ बुझाउनेछ।
फागुन १, २०७९ सोमबार १४:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।