लुम्बिनी प्रदेशकी पूर्वमन्त्री विमलाले गरिन् माओवादी परित्याग, पार्टीले ‘युज एण्ड थ्रो’ गरेको आरोप
बुटवल : लुम्बिनी प्रदेशकी पूर्व स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री (वली)ले पार्टीले आफूलाई ‘युज एण्ड थ्रो’ गरेको भन्दै माओवादी परित्याग गरेकी छन्।
गत २४ माघमा जिल्ला समन्वय दाङ कमिटी अध्यक्षलाई सम्बोधन गर्दै बुझाएको राजीनामा पत्रमा उनले आफूलाई पार्टीले ‘युज एण्ड थ्रो’ गरेको अनुभूति भएको उल्लेख गरेकी छन्।
उनले माओवादी केन्द्रको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी हुन्।
साविक नेकपाबाट एमाले र माओवादी केन्द्र पुनः आ–आफ्नै अस्तित्वमा फर्किंदा आफू माओवादीमै रहेको र आफ्नो सापटी पैसा लिन जाँदाको विषयलाई लिएर मन्त्रीबाट राजीनामा दिन लगाइएको प्रसङ्ग उल्लेख गर्दै उनले पछि पार्टीले वास्ता नगरेको र ‘युज एण्ड थ्रो’ गरेको बताएकी हुन्।
राजीनामापत्रमा भनिएको छ:
‘दुई पार्टी विभाजन हुँदा मैले मुटुमा ढुंगा राखेर पनि माओवादी केन्द्रलाई सहयोग गरें। श्रीमानको योगदान एमालेमा हुँदाहुँदै पनि म माओवादी केन्द्रमा आउनु सानो प्रयत्न थिएन। तर, यसलाई मेरो राजनीतिक चेतना नभएको भन्ने कोणबाट विश्लेषण हुने गर्यो। माओवादी केन्द्रले पनि यो कुरालाई सामान्यकरण गर्यो। तर, पनि मैले यसलाई संघर्षका रूपमा बुझें र पार्टीले पनि मेरो योगदानको कदर गर्दै प्रदेशको स्वास्थ्य राज्यमन्त्री बनायो। यसबीचमा केही उत्तारचढाप आउँदा मलाई पार्टीले सहयोग नगरेको अनुभूति मलाई भयो। ठूला–ठूला अपराधीहरूलाई त पार्टीले संरक्षण गरेको इतिहास हामीसामू छन्। तर, आफ्नो सापटी लिएको पैसा माग्न जाँदा उत्पन्न भएको अवस्थालाई लिएर मलाई जबरजस्ती मन्त्रीपदबाट राजीनामा लिन लगाइयो। त्यसपछि पार्टीले मलाई कुनै वास्ता पनि गरेन। मलाई पार्टीले ‘युज एण्ड थ्रो’ गरेको अनुभूति भयो। त्यसैले आजकै मितिदेखि म माओवादी केन्द्रको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको घोषणा गर्दछु।’
फागुन १, २०७९ सोमबार १४:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।