भूकम्पको एक हप्तापछि सात वर्षका बालक र ६२ वर्षकी महिलाको सकुशल उद्धार

भूकम्पको एक हप्तापछि सात वर्षका बालक र ६२ वर्षकी महिलाको सकुशल उद्धार

एजेन्सी: टर्किए (पुरानो नाम टर्की) मा भूकम्प गएको एक सातापछि भग्नावशेषभित्र पुरिएको अवस्थामा दुई व्यक्तिलाई सकुशल उद्धार गरिएको छ। गत सोमबारको विनाशकारी भूकम्पपछि भत्किएका भवनको भग्नावशेषमा करिब सात दिनसम्म फसेका एक बालक र ६२ वर्षीया महिलालाई उद्धार गरिएको हो।

सात वर्षीय मुस्तफालाई दक्षिणपूर्वी टर्कीको हताय प्रान्तबाट उद्धार गरिएको हो भने नाफिज यिल्माजलाई नुर्डागीबाट उद्धार गरिएको हो। दुवै जना १६३ घण्टासम्म भग्नावशेषमा फसेका थिए।

भूकम्पमा परी टर्की र सिरियामा गरी ३४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ। उद्धार कार्य जारी रहेको छ भने मृतकको सङ्ख्या अझै बढ्ने अनुमान छ।

टर्कीको विपद् व्यवस्थापन निकायका अनुसार टर्कीका ३२ हजारभन्दा बढी व्यक्ति खोजी तथा उद्धारकार्यमा जुटेका छन् भने आठ हजार २९४ जना अन्तर्राष्ट्रिय उद्धारकर्ताले पनि उद्धार गरिरहेका छन्।

उद्धार टोलीहरूले सेन्सर र उन्नत खोजी उपकरणहरूको अभावमा काम गरिरहेको र यसले उद्धारमा ढिलाइ भएको बताएका छन्। उद्धारकर्ताहरूले सावधानीपूर्वक बेल्चा तथा अन्य हाते उपकरण भग्नावशेषलाई खन्न र अवरोध हटाउन बाध्य भएको बताएका छन्।

उत्तरपश्चिम सिरियाको जाबलेहका नागरिक सुरक्षा प्रमुख अला मौबाराकले भने, “यदि हामीसँग आधुनिक उपकरण भएको भए हामी सयौँको ज्यान बचाउनसक्थ्यौँ।”

फागुन १, २०७९ सोमबार १४:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।