पृथ्वीनारायण शाहले गोरखाबाट ल्याएको नगराका पुजारी सुमन, जसलाई काठमाडौं महानगरले तलब दिन्छ
गोरखाका तत्कालीन राजा छत्र शाह उत्साही स्वभावका थिए। हात्तीमा चढेर त्यसको दुईतिर झुण्ड्याइएको नगरा बजाउँदै लड्न जाने लक्ष्य बनाए।
लमजुङमा लडाइँ जितेपछि त्यहाँको दरबारबाट दुईटा ठूला ठूला नगरा बजागाजासहित गोरखा दरबार आए। त्यसपछि हरेक युद्धको सूचना दिन नगरा बजाउँदै हिँड्न थाले।
उनको देहावसानपछि नगरा त्यत्तिकै रह्यो। पृथ्वीनारायण शाह राजा भएपछि भने त्यो चलन पुनः सुरु भयो। अनि, गोरखाबाट काठमाडौं आउँदा नगरा समेत लिएर आए।
त्यो समयमा नगरा मात्र भित्रिएन, बिसे नगर्ची (बाजा बजाउने)को परिवार पनि भित्रिए। उनीहरूको काम भनेकै नगरा बजाउने मात्र हुन्थ्यो।
'पृथ्वीनारायण शाहले जित हासिल गरेपछि खुशीयाली मनाउँदै हाम्रो पुर्खा पनि सँगै काठमाडौंमा नाच्दै, गाउँदै बजाउँदै आएको', उनले भने।
सपरिवार गोरखाबाट आएका नगर्चीहरूको लागि भनेर यतै केही बिघा जग्गाको व्यवस्था गरियो। अनि हनुमानढोका दरबारकै अगाडि 'नगरा घर'को स्थापना पनि गरियो।
नगरालाई पछि त पूजा गर्न पनि थालियो। जसको पूजारी पनि नगर्ची नै भए।
सुरुमा नगर्चीको परिवार नगरा घरमै बसेर रेखदेख गर्थे। अहिले भने नगर्चीहरू नगराको पूजा र रेखदेख मात्र गर्छन्।
नगरा घरमा नगरासहित पूजा सामग्री, एउटा ताम्रपत्र अनि भगवान्का फोटोहरू अहिले पनि छ। जात्रा विशेष र बिहान तलेजुको नित्य पूजाबाहेक अरू बेला नगरा घरमा ताल्चा लगाइएको हुन्छ।
नगरा बजाउने र पूजा गर्ने जिम्मा अहिले पुस्तान्तरण हुँदै ३३ वर्षीय सुमन परियारको भागमा आइपुगेको छ। हरेक बिहान नुहाइधुहाइ गरेर देगु तलेजुमा हुने नित्य पूजामा उनी पुगिहाल्छन्।
'पृथ्वीनारायण शाहले जित हासिल गरेपछि खुशीयाली मनाउँदै हाम्रो पुर्खा पनि सँगै काठमाडौंमा नाच्दै, गाउँदै बजाउँदै आएको', उनले भने।
नगरा बजाउन के-के सामान चाहिने? कसरी, कुन विधिमा पूजा गर्ने? कतिपटक, कसरी बजाउने भनेर गिर्वाणयुद्ध विक्रम शाहले ताम्रपत्र नै जारी गरेका रहेछन्।
हरेक बिहान ९ बजे नगरा बजाइन्छ। धेरैलाई लाग्छ ९ बजेको भनेर जनाउ गर्न बजाइएको हो। तर, वास्तविकता त्यस्तो नभएको सुमन बताउँछन्।
देगु तलेजुमा हुने नित्य पूजापछि नगरा बजाइन्छ। धूप बत्ती बालेर पूजा गरेपछि दुवै नगरालाई १०८ पटक बजाउने गर्छन् उनी।
त्यहाँको काम सकेर तलेजु मन्दिरभित्र जान्छन् अनि ढोकामा झुण्ड्याइएको सानो नगरा पनि १०८ पटक बजाउँछन्।
नगरा पूजा विधिको लागि ताम्रपत्र नै जारी
तलेजु मन्दिरका कारण देगु तलेजु छायामा परेको उनी बताउँछन्। काठमाडौंका पुराना बासिन्दालाई समेत यसको बारेमा थाहा नभएको उनको भनाइ छ।
नगरा बजाउन के-के सामान चाहिने? कसरी, कुन विधिमा पूजा गर्ने? कतिपटक, कसरी बजाउने भनेर गिर्वाणयुद्ध विक्रम शाहले ताम्रपत्र नै जारी गरेका रहेछन्।
'बलिको लागि जनवारहरू पनि पुरातत्वबाटै आउँछन्। हामीले अहिले राँगा, बोकाको बलि दिन्छौँ। ताम्रपत्रमा त पाँच वटा छ। केही त बुझिँदैन। अनि हाँसको मासु चाहिँ म खाँदिनँ त्यही भएर त्यसको बलि चाहिँ दिन्नँ', उनले हास्दै सुनाए।
त्यसैको फोटो देखाउँदै सुमन भन्छन्, 'ताम्रपत्रमा लेखेअनुसार धूप, अबीर, अक्षता, रक्तचन्दन, सुपाडी एक, राँगा एक रुपैयाँको, बोका एक पैसाको भनेर लेखेको छ। त्योभन्दा बढी पनि होला। तर, त्यतिसम्म चाहिँ बुझिन्छ।'
उनले पनि एक वृद्ध व्यक्तिबाट उक्त ताम्रपत्रमा लेखेको कुरा बुझेका थिए। 'त्यो मैले बिर्सी पनि सकेँ। नेपालीमा लेखाएर राख्छु भनेको त्यत्तिकै भइराछ', उनले भने।
हरेक वर्ष म्ह पूजाको दिन ३६५ पटक नगरा बजाउँछन् सुमन। पूजा सामग्रीको लागि उनलाई पुरातत्व विभागबाट पैसा आउँछ।
'बलिको लागि जनवारहरू पनि पुरातत्वबाटै आउँछन्। हामीले अहिले राँगा, बोकाको बलि दिन्छौँ। ताम्रपत्रमा त पाँच वटा छ। केही त बुझिँदैन। अनि हाँसको मासु चाहिँ म खाँदिनँ त्यही भएर त्यसको बलि चाहिँ दिन्नँ', उनले हास्दै सुनाए।
बलिपछि मासु साथीभाइहरूमा प्रसादको रूपमा बाँडिने गरिन्छ रे।
काठमाडौं महानगरले दिन्छ मासिक सात हजार
'गोरखाबाट हामीलाई ल्याएको भनिन्छ। तर, मैले थाहा पाएअनुसार गोरखामा हामी कोही पनि गएका छैनौँ आजसम्म', उनले भने, 'यो काम गरेबापत हामीलाई पहिला फलानो-फलानो ठाउँमा जग्गा छ त्यहाँको मान्छेहरूले खेती गर्ने अनि हामीलाई धान बुझाउने भन्ने थियो। हाम्रो घरमा सानो गाउँ, धर्मस्थली, चरिकोट अनि अन्तबाट पनि वर्षभर पुग्ने अन्न आउँथ्यो। बलि दिनको लागि राँगा, बोका पनि आउँथ्यो। तर, धेरै भयो आउन छोडेको।'
इन्द्रजात्रको समयमा पूर्णिमाको दिन रथ हनुमानढोकाबाट ल्याउने समयमा कुमारी, गणेश र भैरवलाई एक-एक भाग दिनुपर्ने हुन्छ। त्यसदिन उनी दिनभर नगरा घरमै हुन्छन्। त्यस्तै चैते दशैं र बडादशैंमा पनि उनी दिनभर पूजा र बलि दिनमै व्यस्त हुन्छन्।
अहिले पुरातत्वले पूजा सामग्रीको लागि खर्च दिए जस्तै काठमाडौं महानगरपालिकाले भने मासिक तलब सात हजार रुपैयाँ दिन्छ रे उनलाई।
'पहिला त पाँच हजार दिन्थ्यो। अहिले बढाएको धेरै भएको छैन। पुरातत्वले त झन् एकदमै कम के। पुग्दै पुग्दैन। भन्न पनि नमिल्ने', मधुरो आवाजमा उनले सुनाए।
गुठी संस्थानमा नियुक्तिको सिस्टम
गुठी संस्थानले अहिले चाहिँ उनीहरूलाई नियुक्ति पनि दिँदो रहेछ। सुमनका अनुसार गुठी संस्थानबाट नियुक्ति पाउन पुर्खौदेखि त्यही काम गरेको हुनुपर्छ।
दुईटा तलेजुमा उनले पूजा गर्छन्। अनि उनको काकाहरू भने नरदेवी मन्दिर र कँडेल चोक भगवतीमा गर्छन्। चारै वटा मन्दिरमा पालैपालो पनि गर्ने गर्छन्।
सुमनको परिवारमा लगभग सबै पुरुष सदस्यले नगरा पुजारी भएर काम गरेका छन्।
महिला सदस्यहरूको हकमा उनका बुबाको हजुरआमाहरूले भने केही समयको लागि यो कर्तव्य पालना गरेको उनी सुनाउँछन्।
'मेरो बुवाको हजुरआमाहरू दुई जना हुनुहुन्थ्यो रे। छोराहरू सानो हुँदा जिजु बाउ नभएको अवस्थामा हजुरबाहरू पनि सानो हुनुहुन्थ्यो रे। त्यो बेला चाहिँ हाम्रो दुई जना हजुरआमाहरूले पूजा गरेर यो नगरा बजाउनु भएको रे!', उनले भने।
त्यसपछि भने महिलाहरूले यो काम गर्नु परेन।
इन्द्रजात्रको समयमा पूर्णिमाको दिन रथ हनुमानढोकाबाट ल्याउने समयमा कुमारी, गणेश र भैरवलाई एक-एक भाग दिनुपर्ने हुन्छ। त्यसदिन उनी दिनभर नगरा घरमै हुन्छन्। त्यस्तै चैते दशैं र बडादशैंमा पनि उनी दिनभर पूजा र बलि दिनमै व्यस्त हुन्छन्।
'त्यसबाहेक अरू दिनमा त बजेटले पनि पुग्दैन अनि समय पनि धेरै दिन भ्याउदिनँ। बिहान नित्य पूजा गरेपछि अर्कै काममा व्यस्त हुन्छु', उनले भने।
पूजाको लागि आफ्नै खर्च
ठूला पूजाका लागि पुरातत्व विभागबाट खर्च आए पनि साना पूजाको खर्च भने महानगरले आफूलाई दिने पारिश्रमिकबाटै उनले टार्ने गरेका छन्।
सुमन आफैँले सम्पूर्ण रूपमा नगरा घर सम्हाल्न थालेको पनि १० वर्ष भइसक्यो। हनुमानढोकाको मन्दिरहरूमै बाल्यकाल बिताएका सुमनले पढाइ भने इन्टरसम्म गरेका रहेछन्। सानैदेखि मन्दिर र पूजारीको सङ्गतमा रहेका उनले जातीय विभेद भने भोग्न परेन।
देगु तलेजुको नित्य पूजापछि उनी आफ्नो काममा जान्छन्। उनी विज्ञापन एजेन्सीमा डिजाइन बनाउने काम गर्छन्।
पुस्तान्तरण गर्ने सोच
'मैले सकुञ्जेल त म गर्छु। तर, हिँड्नै नसक्ने भएँ भने त्यो अलग कुरा हो। काकाको बच्चाहरूले इच्छा त देखाउँछ। मेरै पनि छोरी सानी छ। उसले इच्छा देखाइ भने यही लाइनमा लाने सोचेको छु', उनले भने।
नगरा घरको तलमाथि गरेर नै पूजा गर्न जानेका उनले पूजाको विधि सिक्न नपरे पनि मन्त्र भने कण्ठ गर्न परेको रहेछ।
अन्त जस्तै सुमनले भेटीबाट आम्दानी गर्ने अवस्था छैन। किनभने नित्य पूजा सकिएपछि नगरा घरमा ताल्चा लाग्छ।
अहिले पनि दुई/तीन दिनमा कण्ठ गरिरहेको हुन्छु। अस्ति पढ्यो अहिले बिर्सिसकेको हुन्छ। सधैँ त्यही मात्र पढेर बसेको भए अलग कुरा। दिउँसो अर्को काममा पनि जाँदा त बिर्सिने रहेछ', उनले हास्दै भने।
फुट्दै गयो नगरा
०७२ सालको भूकम्पले नगरा घर र नगरालाई भताभुङ्ग पार्योस। नजिकैको कृष्णमन्दिर ढल्दा नगरा घरको भित्ता र छत भासियो। नगरा पनि कुच्चियो।
करिब ७/८ महिना त नगरालाई सँगैको प्रहरी चौकीमा राखियो। नगराको छाला फेर्न पर्यो। तर, अझै फुट्दै गइरहेको छ।
काठमाडौं महानगरले बनाइदिन्छु भनिसकेको उनले बताए। राम्रोसँग पुनर्निर्माण नभएको कारण पानी चुहिने गरेको पनि उनले दुखेसो पोखे।
नगरा बजाएर पुग्दो चाहिँ छैन
अन्त जस्तै सुमनले भेटीबाट आम्दानी गर्ने अवस्था छैन। किनभने नित्य पूजा सकिएपछि नगरा घरमा ताल्चा लाग्छ।
उनी भन्छन्, 'दिनभर खोलेर यतै बसौँ जस्तो पनि लाग्छ कहिलेकाहीँ त। तर, ह्या के बसिराख्नु। बरू बाहिर घुलमिल भएको जस्तो पनि हुने पैसा पनि राम्रै कमाउन सकिन्छ जस्तो लाग्छ।'
आफ्नो दैनिकी नै भएकोले चाहिँ उनी यसैमा सन्तुष्ट हुन थालेका छन्। 'दुखी भनेर दुखी पनि छैन। खुशी भनेर एकदम खुशी पनि छैन। पुर्खादेखि गर्दै आएको काम हो। म पनि किन पछि हट्ने भनेर बसेको। साँच्चै कुरा गर्नु पर्दा यो काम गरेबापत खासै त्यस्तो पुग्ने चाहिँ केही छैन', सुमनले भने।
तर, विश्व सम्पदा सूचीमा परेको ठाउँभित्र बसेर काम गर्न पाउनु आफैँमा एउटा गौरवको कुरा भएको भने लाग्दो रहेछ उनलाई।
फागुन १, २०७९ सोमबार १३:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।