स्कुटर चोरलाई दाङ प्रहरीले जोगाएको प्रकरण : आईजीपीको निर्देशनपछि बन्यो छानबिन समिति
दाङ: दाङ प्रहरीले स्कुटर चोरलाई बचाएको आरोप लागेपछि प्रहरी प्रधान कार्यालय काठमाडौंको निर्देशनमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयले घटनाबारे छानबिन गर्न समिति बनाएको छ। लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी टेकप्रसाद राईले घटनाबारे ध्यानाकर्षण भइसकेको भन्दै छानबिन गर्न आफूले निर्देशन दिइसकेको बताए।
घोराहीको बीपी चोक नजिकै रहेको टीभीएस शोरूमबाट दिउँसै स्कुटर चोरी भएको थियो। त्यसपछि प्रहरीले चोरीमा संलग्न अभियुक्तलाई मुद्दा नचलाई छाडेको समाचार सार्वजनिक भएको थियो।
नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहले स्कुटर चोरी प्रकरणमा चोरलाई जोगाउन प्रहरीको मिलेमतो भए/नभएको बारे छानबिन गरेर कारबाही गर्न प्रदेश प्रहरी प्रमुखलाई निर्देशन दिएका हुन्। आईजीपी सिंहको निर्देशनपछि राईले एसपी नवरत्न पौडेलको नेतृत्त्वमा छानबिन समिति गठन गरिएको जानकारी दिए।
उनले पौडेल नेतृत्त्वको छानबिन समितिलाई एक हप्ताभित्र प्रतिवेदन पेश गर्ने र यदि घटनामा प्रहरीको मिलेमतोमा भेटिए माथिल्लोदेखि तल्लो दर्जाका जोसुकै प्रहरीलाई कारबाही गर्ने बताए। घटनाले प्रहरी संगठनमाथि नै प्रश्न चिह्न खडा भएकाले प्रहरीकै मिलेमतोमा चोरीको अभियुक्तलाई मुद्दा नचलाई छुटाएको भए घटनामा संलग्न जो कोही पनि कारबाही दायरामा आउने उनले बताए।
गत शुक्रबार दिउँसो १ बजेर ३० मिनेट जाँदा घोराही– १५ बीपी चोकमा रहेको नोवेल ट्रेडिङ प्रालिको टीभीएस शोरुमबाट नचिनेका व्यक्तिले टीभीएस स्कुटर लगेपछि शोरुम सञ्चालकले शोरूमबाट स्कुटर चोरी भएको भन्दै सामाजिक सञ्जालमा आक्रोशसहित लेखेका थिए। शोरूम सञ्चालक चित्रबहादुर विष्टका अनुसार शुक्रबार दिउँसो दुई लाख ९५ हजार ९०० मूल्यको एनटर्क स्कुटर चोरी भएको भन्दै सामाजिक सञ्जालमा लेखेर प्रहरीमा उजुरी नै दिएका थिए।
विष्टले सीसीटीभी फुटेजसहित निवेदन घटनाकै दिन जिल्ला प्रहरी कार्यालय दाङमा बुझाएका थिए। त्यसपछि प्रहरी अनुसन्धानमा जुट्यो। प्रहरीले घोराहीको कटुवाखोलाबाट स्कुटर फेला पार्यो।
त्यसको केही दिनपछि प्रहरीले सीसीटीभी फुटेजको सहारामा स्कुटर चोरलाई पक्रियो। माघ २४ गते घोराही- ३ का कुमार रानालाई स्कुटर चोरीमा संलग्न भएको आरोपमा पक्राउ गरे पनि मुद्दा नचलाई छाडेको भन्दै यतिबेला प्रहरीमाथि आरोप लागेको छ।
रानालाई छुटाउन गणेश नेपालीले जिल्ला प्रहरी कार्यालय पुगेर दबाब दिएको प्रहरी स्रोतको दावी छ। जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजन गौतमले पीडित पक्षले नै चोरी गर्ने मान्छे चिनजानको मान्छे भएकाले मुद्दा नचलाउन आग्रह गरेकाले छाडिएको बताए।
प्रहरीको यो कार्य शंकास्पद रहेको भन्दै यस्तै नजिर दोहोरिए के गर्ने भन्ने आम सरोकारवालाले प्रश्न गरेका छन्। कुनै पनि घटनामा प्रहरीले लिखित जाहेरी नआए प्रहरी प्रतिवेदनका आधारमा मुद्दा चलाउने गर्छ।
फागुन १, २०७९ सोमबार १०:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।