अमेरिकाले २० हजार फिटमा उडिरहेको 'अज्ञात वस्तु' फेरि खसाल्यो

अमेरिकाले २० हजार फिटमा उडिरहेको 'अज्ञात वस्तु' फेरि खसाल्यो

एजेन्सी: अमेरिकाले २० हजार फिटको उँचाइमा उडिरहेको 'अज्ञात वस्तु' खसालेको छ। यो महिनामा मात्र यस्तो चौथो वस्तु खसालिएको हो।

राष्ट्रपति जो बाइडेनले क्यानडाको सीमानजिक उडिरहेको उक्त वस्तु हुरोन ताल छेउमा खसाल्न आइतबार आदेश दिएका थिए। उक्त वस्तुले व्यावसायिक हवाई उडानलाई प्रभावित पार्न सक्ने भएकाले खसालिएको बताइएको छ।

उक्त वस्तु सुरुमा शनिबार मोन्टानाको सैनिक क्षेत्रको आकाशमा देखिएको थियो। अष्टभुजको आकारमा भएको उक्त वस्तु मानवरहित र सैन्य खतराविहीन भएको बताइएको छ। एफ- १६ फाइटर जेटबाट प्रहार गरिएको मिसाइलले उक्त वस्तु खसालेको हो।

यसअघि ४ फेब्रुअरीमा चिनियाँ जासुस बेलुनलाई खसालिएको थियो। चीनले भने आफूले जासुस बेलुन नपठाएको बताउँदै आएको छ।

त्यसपछि १० फेब्रुअरीमा उत्तरी अलास्का क्षेत्र उडिरहेको अर्को वस्तु पनि अमेरिकाले खसालेको थियो। लगत्तै ११ फेब्रुअरीमा अमेरिकी फाइटर जेटले क्यानडाको युकोन क्षेत्रमा उडिरहेको वस्तु खसालेको थियो।

फागुन १, २०७९ सोमबार १०:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।