स्थायी राजधानीमा अस्थायी संरचना बनाउने प्रदेश सरकारको हुटहुटी, राप्ती प्राविधिक शिक्षालयले हुर्काएको सयौँ रुख काट्न थालियो
बुटवल: २०५० सालमा एसियाली विकास बैङ्कको सहयोगमा स्थापना भएको राप्ती प्राविधिक शिक्षालय परिसरमा अहिले प्रदेश सभा भवन, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित केही मन्त्रालय छन्। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गतका प्राविधिक कक्षाहरू सञ्चालन हुँदै आएको शिक्षालय अहिले गढवामा सरेको छ।
योसँगै शिक्षालय परिसर अहिले उजाड र उराठलाग्दो बन्दै गएको छ। अस्थायी संरचनामै भए पनि बुटवलबाट राजधानी सार्ने हतारोले शिक्षालय परिसर अस्तव्यस्त जस्तै बनेको छ।
राज्यले ३० करोड बढी रकम खर्चेर अस्थायी संरचनामा लगानी गरिरहेको छ।
अहिले राजधानी व्यवस्थापनका नाममा शिक्षालयले हुर्काएका सयौँ रुख कटान गरिएको छ। लुम्बिनी प्रदेशको राजधानीका लागि शिक्षालयले उपलब्ध गराएको संरचनाले नपुग्ने भएपछि थप अस्थायी संरचना निर्माणका लागि शिक्षालय परिसरभित्रका तीन सयभन्दा बढी रुख काटिएको हो।
गुरुयोजना अनुसार शिक्षालयभित्र ठूला पूर्वाधार निर्माण गर्ने नक्सा छैन। तर, त्यहाँका रुख धमाधम कटान गर्दै त्यहीँ संरचना निर्माण गर्ने प्रक्रिया अघि बढाइएको छ।
यसअघिका मुख्यमन्त्री कुलप्रसाद केसीको निर्देशनमा रुख कटान गरिएको थियो। त्यसपछि नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेपछि प्रदेश सभा भवनअगाडि लामबद्ध रुखहरू काटियो।
तत्कालीन मुख्यमन्त्री केसीले हतारमा राजधानी सार्ने क्रममा सुरुमा जिल्ला वन कार्यालय दाङको अनुमतिबिना नै रुख काटेपछि विरोध भएको थियो।
अनुमतिबेगर साल, आँप, खयर, सिसौ, पसमल, जामुन, गोलमाल, मसला लगायत झण्डै एक दर्शन रुख काटेपछि मात्र बल्ल मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पुसको पहिलो साता डिभिजन वन कार्यालय लमहीसँग छपान र कटान अनुमति मागेको थियो।
वन कार्यालयले भने पुस दोस्रो साता मात्र २४० रुख छपान गरी कटान अनुमति दिएको थियो। त्यो अनुमति दिनुअघि नै सयौँ रुख कटान भइसकेको थियो।
वन कार्यालय लमहीका सहायक वन अधिकृत छोटेलाल चौधरीले मुख्यमन्त्री कार्यालयबाट केही ढिला अनुमति मागेको बताउँदै अहिले त्यहाँ कटान गरिएका सबै रुखहरू प्रक्रिया सङ्गत ढङ्गले कटान र छपान भएको बताए।
उनका अनुसार पाँच हजार २२५ दशमलव तीन क्युफिट काठ र १३ हजार २८७ दशमलव १६ क्युफिट गैरकाठ कटानका लागि अनुमति दिइएको छ।
शिक्षालय परिसरभित्रका रुख काटिएपछि अहिले परिसर उजाड बनेको छ।
प्रदेशको वन तथा वातावरण मन्त्रालयका सचिव उद्धवबहादुर घिमिरेले परिसरभित्रका सबै रुख प्रक्रिया पूरा गरेर मात्र कटान भइरहेको बताए। परिसरका २४० रुखको डिभिजन वन कार्यालयले छपान गरेको र अहिले त्यति नै कटान भएको उनको दावी छ।
त्यति मात्र होइन, राजमार्ग किनारका रुखहरू पनि यसअघिका मुख्यमन्त्री कुलप्रसाद केसीको निर्देशनमा कटान गरिएको थियो। यसअघिका मुख्यमन्त्री केसीले डिभिजन वन कार्यालयलाई मौखिक रूपमा आदेश दिँदै राजमार्ग क्षेत्रका रुख काट्न निर्देशन दिएका थिए।
फागुन १, २०७९ सोमबार ०९:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।