उकेरा टप फाइभ : रास्वपालाई सरकारमा ल्याउने तयारीदेखी वैदेशिक रोजगारीका नाममा ठगिने युवाहरूसम्म

उकेरा टप फाइभ : रास्वपालाई सरकारमा ल्याउने तयारीदेखी वैदेशिक रोजगारीका नाममा ठगिने युवाहरूसम्म

काठमाडौं : बुधबारको नेपालको राजनीति रास्वपामा केन्द्रित थियो। एकतर्फ सरकार छाडेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः सरकारमा ल्याउन सत्ता गठबन्धनका नेताहरू छलफलमा जुटेका थिए।

अर्कातर्फ रास्वपाका सभापति रवि लामिछानेले भने सरकारमा फिर्ताभन्दा पनि चितवन-२ को उपनिर्वाचन छिटो हुनुपर्ने माग राखेका थिए।

रविको मागअनुसार नै निर्वाचन आयोगले चितवन-२ मा वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय पनि आजै गर्यो।

आजका टप फाइभ

पोर्चुगल, क्यानडा, पोल्याण्ड जस्ता देश जाने चक्करमा शिक्षित युवा फस्दै, पाँच वर्षमा वैदेशिक रोजगार सम्बन्धी कुल ६ हजारभन्दा बढी उजुरी

आजको दिनको सुरुवात उकेराले बर्सेनि हजारौं शिक्षित युवाहरु पनि वैदेशिक रोजगारीमा जाने क्रममा दलाल र म्यानपावरबाट ठगिने गरेको स्टोरीबाट गरेको थियो।

विचौलिया, वैदेशिक रोजगार कम्पनी र विदेश पढ्न पठाउने भन्दै एजुकेसन कन्सल्टेन्सीका नाममा खोलिएका संस्थाबाट अधिकांश ठगिने गरेका पाइएको छ।

सचिव पोखरेलको कार्यकाल लम्ब्याउन ऐन संशोधन गर्दै गण्डकी प्रदेश सरकार, ६० वर्षे उमेर हदलाई ६५ वर्षे बनाइँदै

गण्डकी प्रदेश सरकारले प्रदेश सभा सचिवालयका सचिव हरिराज पोखरेललाई प्रदेश सभामा थमौती गर्न उनको उमेर बाधक बनेपछि कार्यकाल लम्ब्याउन ऐन नै संशोधन गर्ने प्रक्रिया अगाडि बढाएको छ।

प्रदेश सरकारले ऐनमा भएको ६० वर्ष उमेरको हदलाई संशोधन गरेर ६५ वर्ष कायम गर्ने गरी प्रस्ताव गरेको थियो।

रास्वपालाई पुनः सरकारमा ल्याउने तयारीमा सत्ता गठबन्धन, लिङ्देन भन्छन् -‘केही प्राविधिक समस्यामा छलफल भइरहेको छ’

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनका अनुसार आइतबार भएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा रास्वपालाई पुनः सरकारमा ल्याउनेबारे छलफल भएको थियो। उपयुक्त समय भएपछि रास्वपा सरकारमा आउन सक्ने उनले बताए।

प्रधानमन्त्री प्रचण्ड : बोल्छन् एकाथरी, निर्णय गर्छन् अर्कै

आजै बसेको मन्त्रिपरिषदको बैठकले ‘जनयुद्ध दिवस’ का दिन फागुन १ गते साेमबार (भाेलि) सार्वजनिक विदा दिने निर्णय गरेको छ।

सार्वजनिक विदा धेरै भएको भन्दै पुनरावलोकनको निर्देशन दिएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफैंले आज भने पार्टीगत रूपमा मनाउँने ‘जनयुद्ध दिवस’ मा सार्वजनिक विदा दिने निर्णय गरे।

डा. नीतिको प्रसव पीडा र खुसी : चाइनिज क्यालेन्डर ‘फलो’ गर्दा पनि छोरी जन्माउँन सकिनँ

आइतबारको उकेरा कोलममा त्रिभुवन विश्वविद्यालयकी उप-प्राध्यापक डा. नीतिको प्रसव पीडा र खुसीको कथा थियो। जसमा उनले अहिले महिलाहरुलाई बच्चाको अनुहार देखेपछि प्रसव पीडा भुलें भन्न बाध्य बनाइएको तर बच्चा जन्माउने समयमा भएको प्रसव पीडा निकै दर्दनाक हुने बताएकी छन्।

माघ २९, २०७९ आइतबार २१:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।